कलैया,बारा प्रहरीले विष्फोटक पदार्थ पटाकासहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले मकवानपुर हेटौडा उपमहानगरपालिका वडा नम्बर– १५ बस्ने ३४ वर्षीय बुद्ध लोप्चन, ३२ वर्षीय राजकुमार लोप्चन र २५ वर्षीय बुद्ध लोप्चनलाई पक्राउ गरेको हो । सिमा प्रहरी चौकी छतवा बाराबाट मंगलबार राति खटिएको प्रहरी टोलीले फेटा गाउँपालिका वडा नम्बर– ३ बाट उनीहरुलाई पटाका सहित पक्राउ गरेको थियो । भारतबाट शंकास्पद रुपमा ना ३८ प ७९५३ र ना १६ प ६२२९ मोटरसाइकलमा तीन जना नेपालतर्फ आइरहेका थिए ।
रोकेर चेकजाँच गर्दा उनीहरुको साथबाट कार्टुनमा राखी लुकाएर ल्याएको पटाका बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो । उनीहरुको साथबाट किङ कोबरा–११ बण्डल र ईलेक्ट्रिक स्पार्कर्स–५० प्याकेट बरामद भएको उहाँको भनाइ छ ।
बारा जिल्ला अदालतबाट विष्फोटक पदार्थ अन्तर्गत कसूरमा पहिलो पटक ५ दिनको म्याद लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पर्सा र सर्लाहीबाट पनि बरामद
वीरगन्ज,वीरगन्जको विभिन्न स्थानबाट बरामद गरिएका विष्फोटक पदार्थलाई पर्सा प्रहरीले नष्ट गरेको छ ।
विभिन्न मितिमा नियन्त्रणमा लिइएको १ लाख ५० हजार मूल्य बराबरको पटाका एवम् पटाकाजन्य पदार्थलाई जिल्ला प्रहरी कार्यालय पर्साले नष्ट गरेको हो । पटाका, आतिशबाजी, लगायतका पदार्थलाई बुधबार बिहान नष्ट गरेको पर्साका प्रहरी पवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताउनुभयो ।
नष्ट गरिएको पटकामा रकेट पटाका ३५ प्याकेट, नागिन १ हजार २ सय ५० प्याकेट, फुलझरी ८ सय पिस, रकेट फुलझरी १ सय २० प्याकेट, बिडी पटाका ७ बोरा, कोबरा र बिडी ६ कार्टुन, चक्लेट पटाका ४० प्याकेट नष्ट गरेको प्रवक्ता खनालले बताउनुभयो ।
त्यस्तै झिरझिरे १ सय प्याकेट, टेन शट १ सय प्याकेट, सतरंगी २० प्याकेट, सेभेन शट २० प्याकेट, स्काइ रेड १५ प्याकेट र बसन्ती १२ प्याकेट नष्ट गरिएको प्रहरीले जनाएको छ ।
त्यसैगरी सर्लाही प्रहरीले जिल्लाका विभिन्न स्थानबाट बरामद गरेको पटका नष्ट गरेको छ । विभिन्न मितिमा बरामद गरिएको एक लाख ११ हजार रुपैयाँ बराबरको पटका मंगलबार दिउँसो जिल्ला प्रहरी कार्यालय मलंगवाको परिसरमा खाल्डोमा पुरेर नष्ट गरिएको सर्लाही प्रहरीका प्रवक्ता माधव प्रसाद बुढाथोकीले जानकारी दिनुभएको छ । उहाँका अनुसार उक्त पटकाहरु सीमावर्ती क्षेत्रस्थित छन्कीटोला, अर्नाहा, गडहीया, संग्रामपुर लगायतका नाकाहरुबाट बरामद गरिएको हो । भारतबाट लुकाईछिपाई भित्र्याइएको फूलझरी, रकेट, नागिन, आलु बम, झिरझिरे लगायतका विष्फोटकजन्य पदार्थ बरामद गरी नष्ट गरिएको डीएसपी बुढाथोकीले बताउनुभयो । तिहार तथा छठमा भारतबाट पटकाजन्य वस्तु भित्रन नदिन सीमा क्षेत्रमा चेकजाँच र गस्ती बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
त्यस्तै सर्लाही प्रहरीले हालसालै घरेलु मदिरा उत्पादन गर्ने ६ वटा भट्टी पसल भत्काउनुका साथै तयारी र कच्चा पदार्थ गरी ६ हजार ८६० लिटर मदिरा नष्ट गरेको छ । मदिरा उत्पादन गर्न प्रयोग हुने मेसिन, ग्याँस चुल्हो, ग्याँस सिलिण्डर, प्लाष्टिकका भाँडा लगायतका सरसामग्री बरामद गरिएको सर्लाही प्रहरीले जनाएको छ ।