सिमरा,जीतपुरसिमरा उपमहानगरपालिकाकी उपप्रमुख सरस्वती चौधरीले नगरबासीको आवश्यकताका योजनालाई नगरपालिकाले प्राथमिकतामा राखेको बताउनुभएको छ ।
उपमहानगरको बिकासका लागि छुट्याइएको बजेट रकमको सदुपयोग होस भन्ने हेतुले आर्थिक वर्षको अन्त्यमा काम हुन नसकेका योजनाको रकम नगरबासीको हितमा खर्चिएको उहाँले बताउनुभयो । वडाको सिफारिससहित नगरबासीबाट माग भइ आएका योजना मध्येबाट अति आवश्यक योजनामा अहिले काम भइरहेको उपपूमुख चौधरीको भनाइ छ ।
अहिले नगरमा पुराना र नयाँ दुबै योजनाको काम अन्तिम चरणमा छ । ‘हामीले यो वर्षको बिकास निर्माणका काम केही दिनमा सक्दैछौ, चौधरीले भन्नुभयो, काम हुन नसकेका पुराना केही योजनाको रकमलाई अन्य योजनामा रुपान्तरण गरेर पनि काम गरेका छौ । त्यसका लागि अति आवश्यक योजना छनौट गरेका छौ ।’
अविरल बर्षाका कारण नगरबासीले खेप्नुपरेको सास्तीको विषयमा आफूहरु अवगत रहेको र ती समस्या समाधानका लागि आफूहरुले काम गरिरहेको उहाँले बताउनुभयो । बर्षाले निम्त्याएको पानि निकासको समस्या, ढलको समस्या, हिलाम्य बाटोको समस्या, ससाना कल्भर्ट अभाव जस्ता समस्यालाई तत्काल सम्बोधन गर्न सकिने भएकाले उपमहानगरपालिका त्यसतर्फ लागेको चौधरीले बताउनुभयो । ‘हामीले नगर र नगरबासीको हितमा सोचेर काम गर्दै आएका छौ, चौधरीले भन्नुभयो, आर्थिक वर्षको अन्त्यमा हतारमा काम गरेको भनेर गलत प्रचार भइरहेको पनि सुनेको छु । ती कुराहरु विकासलाई अवरोध पार्ने कुरा मात्रै हो । हामी हाम्रो काम गर्दैछौ ।’ उपमहानगरपालिकाको बिकास निर्माणको कामले गति लिईरहेको अवस्थामा गलत र सुनियोजित प्रचारमा नलाग्न उनले नगरबासीलाई आग्रह गरिन् । Ôजनप्रतिनिधि र कर्मचारीको मनोबल घटाउने काम भईरहेको छ । त्यस्ता कुराको पछि नलाग्न आग्रह गर्दछु ।’ उपप्रमुुख चौधरीले भन्नुभयो ।
जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतकुमार पोखरेलले कर्मचारीका तर्फबाट भइरहेका कार्यसम्पादन सन्तोषजनक रहेको बताउनुभयो । कोरोनाको समय र मौसमको प्रतिकुल अवस्थामा पनि कर्मचारीले निरन्तर नगरको बिकास निर्माणका योजनासहित अन्य कार्यसम्पादनमा महत्वपूर्ण भुमिका खेलेको बताउनुभयो ।
पछिल्लो एक वर्षमा पनि नगरमा बिकासले गति लिएको उहाँको भनाइ थियो । प्रत्येक वडामा स्वास्थ्य चौकी, वडाको आफ्नै भवन, कृषि तथा दुग्ध सहकारीका भवन निर्माणलगायत थुप्रै योजनाका काम यसै वर्ष भइरहेको पोखरेलले बताउनुभयो । ‘जिल्लाका अन्य पालिकाभन्दा जीतपुरसिमरामा काम धेरै भएका छन् । नगरबासीले पनि आफै अनुभुति गरिरहनुभएको छ ।’ पोखरेलले भन्नुभयो ।