वीरगन्ज,पर्सामा कोरोना संक्रमण मुक्त हुनेको ग्राफ बढ्दै गएको छ । जिल्लामा बैशाखको पहिलो साता निकै उत्कर्षमा रहेको कोरोना संक्रमणबाट निको हुनेको दर बिस्तारै बढ्दै गइरहेको हो । जेठ १६ गते आइतबारसम्ममा पर्सामा कुल ९ हजार ६ सय ८६ जनाको पिसिआर परीक्षण गरिँदा संक्रमित भएका मध्ये एक हजार ६ सय ८२ जनाले कोरोनालाई पराजित गर्न सफल भएको जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौलेलले जानकारी दिनुभयो । उहाँका अनुसार अब पर्सामा जम्मा १ हजार २ सय ८२ जना मात्रै सकृय संक्रमित रहेका छन् । उनीहरु मध्ये २०८ जना मात्रै वीरगन्जका बिभन्न अस्पतालमा उपचाररत छन् । पर्सामा दोश्रो लहरको कोरोनाका कारण भने ११९ जनाको मृत्यु भएको छ भने १४४ जना जिल्ला बाहिरबाट उपचारका लागि वीरगन्ज आएकाहरुको पनि कोरोनाका कारण मृत्यु भएको छ । कोरोना नियन्त्रणका लागि भन्दै गत बैशाख १६ गतेबाट लगाइएको निशेधाज्ञाको समय थप गरेर जेठ २० गतेसम्म पुर्याइएको छ भने आइतबार जिल्लामा निशेधाज्ञा लगाइएको एक महिना पूरा भएको छ । निशेधाज्ञाका कारण नै जिल्लामा संक्रमितहरुको संख्या घटेको चिकित्सकहरुको भनाइ छ ।

यसैबीच वीरगन्जमा कोरोना संक्रमितको संख्या पनि घट्दो छ । पछिल्लो तीन दिनमा लगातार संक्रमितको संख्या घटेको पाइएको छ । पछिल्लो पटक थप १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पर्साबाट संकलन गरिएको ८० जनाको स्वाब, नारायणी अस्पतालको प्रयोगशालामा शनिबार राति परीक्षण गर्दा १४ जनामा मात्रै संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये ९ जना पर्साका, २ जना बाराका, १ जना रौतहटका, २ जना सर्लाहीका र १ जना काठमाडौंका रहेका छन् । संक्रमित हुनेहरुमा १२ जना पुरुष र २ जना महिला रहेको नारायणी अस्पतालका कोभिड कोअर्डिनेटर डाक्टर सरोजरोशन दासले जानकारी दिनुभयो । यसअघि अस्ति राति १७७ जनाको स्वाब परीक्षण गर्दा ४२ जनामा कोरोना पुष्टि भएको थियो ।

थप तीनजनाको मृत्यु

वीरगन्ज, वीरगन्जमा कोरोना भाइरस संक्रमणका कारण आइतबार पनि ३ जनाको मृत्यु भएको छ । आइतबार दिउँसो १ बजे रौतहट जिल्लाको विजयपुरफतुवा नगरपालिका वडा नम्बर ११ हिमालीबासका ५५ बर्षीय पुरुषको मृत्यु भएको छ । जेठ ९ गते नारायणी अस्पतालमा भर्ना भएका उनमा ११ गते पिसिआर परीक्षण गर्दा संक्रमण देखिएको थियो । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ का ६० बर्षिय पुरुषकको पनि आइतबार बिहान मृत्यु भएको हो । जेठ ७ गते उनले गराएको पिसिआर रिपोर्ट पोजिटिभ देखिएपछि जेठ ८ गते उनी नारायणी अस्पतालमा भर्ना भएका थिए । कडा खालको निमोनिया देखिएको उनको बिहान १ बजेर १० मिनटमा मृत्यु भएको नारायणी अस्पतालका निमित्त मेसु डाक्टर उदय नारायण सिँहले बताउनुभयो । त्यस्तै नारायणी अस्पतालमा उपचाररत वीरगंज महानगर वडा नम्बर १६ मिथिला नगरका ६५ बर्षिय पुरुषको पनि आइतबार बिहान मृत्यु भएको हो । कडा निमोनिया भएका उनको जेठ ७ गते पिसिआर परीक्षणमा रिपोर्ट पोजिटिभ देखएपछि जेठ ८ गते उनलाई नारायणी अस्पताल भर्ना गरिएको थियो । उपचारको क्रममा उनको विहान ८ बजे मृत्यु भएको अस्पतालका निमित्त मेसु डाक्टर उदयनारायण सिंहले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here