कलैया ,बरियारपुर,विषयगत शिक्षक अभावका कारण पठनपाठन प्रभावित भएपछि बाराको पचरौता नगरपालिका वडा नम्बर १ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयका विद्यार्थीहरु आन्दोलित भएका छन् ।

नगरपालिकाको वडा नम्बर १ पिपरपातीमा रहेको विद्यालयमा विषयगत शिक्षक अभावका कारण पठनपाठन अवरुद्ध भएपछि मंगलबारबाट विद्यार्थीहरु आन्दोलनमा उत्रिएका हुन । आन्दोलित विद्यार्थीहरुले शिक्षकहरुलाई विद्यालयको कार्यालयभित्रै थुनेर तोडफोड गर्नुका साथै नगरपालिका कार्यालय समेत घेराउ गरेका थिए । तोडफोडबाट विद्यालयको झ्याल, ढोका, टेबुल कुर्सीका साथै कार्यालयमा समेत क्षति पुगेको छ भने नगरपालिका कार्यालयमा पनि समान्य क्षति भएको स्थानीय एक अभिभावकले बताएका छन् ।
विद्यार्थीहरुले विद्यालयमा विषयगत शिक्षकको व्यवस्था गरेर नियमित पठनपाठन हुनु पर्ने, विद्यालय व्यवस्थापन समितिको चयन गरिनु पर्नेलगायतको माग राखेका छन ।
विद्यालय व्यवस्थापन समिति गठनको लागि सोमबार अभिभावक भेला बोलाइएको भएपनि अध्यक्ष पदमा सहमति नजुटेपछि भेला स्थगित भएको शिक्षा पचरौता नगरपालिकाका शाखा संयोजक प्रमोद यादवले बताउनुभयो ।
पचरौता नगरपालिकामा शिक्षक दरबन्दी मिलान, पदपूर्ति र नियुक्ति प्रक्रियामा शिक्षा शाखा संयोजक यादव र नगर प्रमुख रमेश यादवले मनोमानी गर्दै आएको आरोप छ । विद्यार्थीहरुको आन्दोलन नियन्त्रण गर्न ईलाका प्रहरी कार्यलय सिम्रौनगढबाट प्रहरी निरीक्षक दिपक सुवेदीको कमान्डमा थप टोली नगरपालिकामा पुगेको थियो ।
उता, विद्यार्थी आन्दोलनको विषयमा विद्यालयका प्रधानाध्यापक रामानन्द साहसंग प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन ।


















