वीरगन्ज,तराई मधेसमा निक्कै श्रद्धा र आस्थाका साथ मनाइने छठ पर्वको तयारी सुरु भएको छ ।
दीपावली सकिएसँगै तराई मधेसमा छठ पूजाको तयारीमा स्थानीय व्यस्त भएका छन् । अहिले बारा, पर्सा र रौतहटसहित सम्पूर्ण तराई–मधेसका प्रमुख शहर बजारहरुमा निकै चहलपहल बढेको छ ।
लक्ष्मी पूजाको चार दिनपछि अर्थात् कार्तिक शुक्ल पक्षको चौथी तिथिका दिन आइतबारबाट छठ पर्व विधिवत रूपमा आरम्भ हुन्छ । अहिले छठ पर्वका लागि गाउँघर र सहरबजारमा पोखरीको डिल र नदीतटको सरसफाइ गर्दै छठघाट बनाउने तयारी चलिरहेको छ ।
छठघाटमा लाखौँ रकम खर्चेर सरसफाइ, सजावट र व्यवस्थापनका लागि काम पनि धमाधम भइरहेको छ । वीरगन्जको घडीअर्वा, रानीघाट, मुर्ली, छपकैया, रामगढवा, बहुअरी, नगवा, पिपरा, भिस्वालगायतका पोखरी छेउमा सूर्य देवता र छठी माताको पूजा आराधनाका लागि विशेष साजसज्जा गर्न थालिएको छ ।
गत वर्ष कोरोना महामारीका कारण तामझामका साथ छठ पर्ब मनाउन नसकिएका कारण यसपाली वीरगन्जका पोखरी र नदिको छेउमा विशेष सजावट गरेर छठघाट तयार पारिदैछ ।
यस्तै वीरगन्जको बजारमा छठ पूजाका लागि चाहिने पुजन र प्रसादका सामग्री किन्नेहरुको निकै भिडभाड देखिएको छ । खास गरी छठ पूजामा छठी मातालाई अर्पण गरिने प्रसादमा ठेकुवा, स्याउ, केरा, सुन्तला, पानी भएको जटा नरिवल, उखु, हरियो बोडी, पानी सिङ्गडा, मुला, अदुवाको बोट पर्छन् ।
यो समय माटो तथा बाँसका सामग्री खरिद समेत गरिन्छ । तराई मधेसको सबैभन्दा ठूलो पर्व छठमा नयाँ लुगाकपडा लगाउनु पर्ने चलन रहेकाले वीरगन्जका कपडा पसलहरुमा पनि ग्राहकहरुको घुइचो लागेको छ । आइतबारदेखि विधिवत रुपमा सुरु हुने छठ पर्व अन्तर्गत बुधबार साँझ अस्ताउँदो सूर्यलाई र बिहीबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व सम्पन्न हुने छ ।
यसैबीच छठ पर्व नजिकिएसंगै बारा र पर्साका उपभोक्ताहरुको सामान खरिदका लागि भारतीय सीमावर्ती बजारमा भीड लागेको छ । विशेषगरी सिमावर्ती बजार भारतको ईनर्वा, मैनाटार, सिक्टा, भेलाही र रक्सौलमा नेपालीहरुको भिडबढेको हो ।
नेपालीहरुसंग भारतीय व्यापारीहरुले समान बिक्री गरेवापत नेपाली रुपैयाको सयकडा ५ प्रतिशतका दरले बट्टा लिने गरेको स्थानीयहरुले बताएका छन् । नेपालीहरु भारतीय बजारमा ठगिने समेत गरेको गुनासो बढेको छ । नेपालीहरु भारतको बजारमा कपडा, साडी, बच्चाका लागि आवश्यक पर्ने कपडा, खाद्यान्न लगायतका सामग्रीहरु खरिदका लागि भारत जाने गरेको र आफू ठगिने गरेको पर्सा सखुवा प्रसौनी गाउँपाकिका वडा नम्बर ५ महुवनका ध्रुव यादवले गुनासो गर्नुभयो ।