वीरगन्ज,कब्रस्तानमा गाड्न लागेकै अवस्थामा पर्सा प्रहरीले नियन्त्रणमा लिएको किशोरीको शवको पोष्टमार्टम रिपोर्ट आएपछि प्रहरीले उक्त प्रकरणमा वीरगन्ज उपमहानगरपालिकाका एकजना वडा अध्यक्ष र जगरनाथपुर गाँउपालिकाका अध्यक्षका छोरासहित ३ जना विरुद्ध मुद्धा दर्ता गरेको छ ।

प्रहरीले वीरगन्ज महानगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष तुफान फारुक अन्सारी, जगरनाथपुर गाँउपालिकाका अध्यक्ष जालीम मियाका जेठा छोरा नासिर मिया र मृतक बालिकाका बुवा समसुद्दिन अन्सारी विरुद्ध मुद्धा दर्ता गरेको हो । काठमाडौंमा गरिएको शवको पोष्टमार्टममा किशोरीको झुण्डिएर मृत्यु भएको रिपोर्ट आए पनि पोस्टमार्टम नगराई शव गाड्न लागिएकोले घटनालाई प्रहरीले शंकास्पद नै मानेर ३ जना विरुद्ध मुद्धा दर्ता गरेको हो ।

किशोरीलाई झुण्ड्याएर मारेको पनि हुनसक्ने आशंका गर्दै घटना लुकाउने र प्रमाण दबाउने, नष्ट गर्ने प्रयास गरेको अभियोगमा प्रहरीले तीनजना विरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ । तीनै जना विरुद्ध मलुक अपराध संहितको दफा ९३ विरुद्धको कसुरमा मुद्धा दर्ता गरिएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिनुभयो ।

पोष्टमार्टम रिपोर्टमा झुण्डिएरै मृत्यु भएको देखिएपनि घटना लुकाउने र प्रमाण दबाउन खोजिएकोले ३ जना विरुद्ध मुद्दा दर्ता गरिएको प्रहरी नायव उपरीक्षक खनालले बताउनुभयो । किशोरीको शव कब्रिस्तान लैजानुभन्दा अगाडि शव गाँउपालिका अध्यक्षका जेठा छोराको नासिरको घरमा राखिएको, मृतक बालिकाका बुवालाई घटनाबारे जानकारी हुँदा पनि प्रहरीलाई खबर नगरेको र वीरगन्ज वडा नम्बर १३ मुर्लीस्थित कब्रस्तानबाट शव नियन्त्रणमा लिने बेला त्यहाँका वडाध्यक्ष तुफान फारुक अन्सारीले अवरोध पुर्याएको आरोप प्रहरीले लगाएको छ ।

मुद्धा दर्ता गरिएका ३ जनामध्ये मृतक बालिकाका बुबा समसुद्दिन मात्रै प्रहरी हिरासतमा छन् । वडा अध्यक्ष अन्सारी र गाँउपालिका अध्यक्ष जालीमका जेठा छोरा नसीर भने फरार रहेकाले उनीहरुको खोजी भइरहेको प्रहरी नायव उपरीक्षक खनालले बताउनुभयो । वीरगन्ज वडा नम्बर १३ मुर्लीस्थित कब्रस्तानमा असोज २१ गते साँझ भारतको बिहार पश्चिमी चम्पारण जिल्लाको इनर्वा खमीया गाँउकी १४ वर्षीया जयुनत खातुनको शव गाड्दै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको थियो । पोष्टमार्टम रिर्पोट काठमाडौंबाट आइतबार मात्रै आएको प्रहरी नायव उपरीक्षक खनालले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here