नरेश गुप्ता
बरियारपुर,सामान्य अवस्थाका बिरामीलाई पनि अन्यत्र रेफर गर्ने गरेको भनेर आरोप खेप्दै आएको कलैया अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट गौरव महतोले अब गम्भीर अवस्थाका बिरामीलाई मात्र अन्यत्र अस्पतालमा रेफर गरिने बताउनुभएको छ ।
कृपा दैनिकसंग कुराकानी गर्दै कलैया अस्पतालले भरपर्दो र गुणस्तरीय सेवा दिन थालेको र अब गम्भीर प्रकृतिका बिरामीलाई मात्र बाहिर रेफर गरिने उहाँले बताउनुभयो । कलैया अस्पतालमा उपचारको लागि आएका बिरामीलाई निजी स्वास्थ क्लिनिकहरुले प्रलोभनमा पारेर तान्ने परिपाटीको अन्त्य गर्न सस्तो र भरपर्दो सेवाको व्यवस्था गरिएको पनि मेसु महतोले बताउनुभयो ।
अस्पतालमा कार्यरत केही चिकित्सक र स्टाप नर्सले ओभर टाईममा निजी क्लिनिकमा गएर काम गर्दै आएको जनगुनासो बढेको र आफूले सोको पनि समाधान निम्ति पहल थालेको उहाँले जानकारी दिनुभयो ।
अस्पतालले ओ पि डी, एम्बुलेन्स, ईमर्जेन्सी, ल्याब, सुरक्षित शल्यक्रिया र प्रसुति सेवालाई प्रभावकारी बनाउन आफैले निगरानी बढाएको पनि उहाँले जानकारी दिनुभएको छ । कलैया अस्पतालभित्र रहेको एम्बुलेन्स र निजी एम्बुलेन्समा बिरामी रेफर गर्नु पर्ने अवस्था आए अस्पताल, स्थान र समय उल्लेख गरेरमात्र रेफर गर्ने र त्यसको टिपोट ईमर्जेन्सी विभागले अभिलेख राख्ने मेडिकल सुपरिटेन्डेन्ट महतोले जानकारी दिनुभयो ।
बिरामीलाई समान भाडा दरमा अस्पतालभित्रका एम्बुलेन्सलाई पहिलो प्राथमिकतामा राखेर रेफर गरिने र त्यसपछि निजी एम्बुलेन्सलाई पालो दिइने उहाँले जानकारी दिनुभयो ।
त्यसैगरी कलैया अस्पतालको सुरक्षा व्यवस्थापन गर्न चार वटा निजी गार्ड क्वाटर दिएर बाहिर रहेको मोटरसाइकल पार्किङ क्षेत्रको निगरानी गर्ने जिम्मा लगाइएको मेडिकल सुपरिटेन्डेन्ट महतोले जानकारी दिनुभयो ।