निजगढ,मोटरसाइकल दुर्घटनामा सोमवार ज्यान गुमाएका निजगढ नगरपालिका वडा नम्बर १ का भोलाप्रसाद तिमल्सिनाको साथमा रहेको भनिएको नगद र सुनका गहाना हराएको परिवारले बताएको छ ।मृतकको साथमा रहेको नगद ४ लाख, अढाइ तोलाको सुनको गहना र हातको घडी लगायतका सामाग्री हराएको भन्दै दाजु भेधप्रसादले इलाका प्रहरी कार्यालय निजगढमा अनुसन्धानको लागि मंगलवार जाहेरी दिनुभएको छ । भेधप्रसादले सो दिन कृषि सामाग्री संस्थानबाट मल खरिद गर्न भनेर मृतक तिमल्सिनाले घरबाट ४ लाख रुपैया लगेको र साथमा रहेको डेढ तोलाको सुनको सिक्री, एकतोलाको औंठी, चाँदीको ब्रासलेट तथा एक थान घडीसमेत मृतकको साथमा फेला नपरेको बताउनुभयो । मल खरिदको लागि थप रकम खोज्न भनेर रौतहटको चन्द्रपुर गएको र फर्किने क्रममा तिमल्सिनाले चलाएको ना ३४ प ८३३१ नम्बरको मोटरसाइकल निजगढ पुर्वको धन्सार पुल नजिक विपरित दिशाबाट आउदै गरेको ना ६ ख २२६१ ट्रकमा ठोक्किदा दिउसो १.३० बजे घटनास्थलमा नै ज्यान गएको थियो ।दुर्घटनापछि इलाका प्रहरी कार्यालयबाट पुगेको प्रहरी टोलीले उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र निजगढ ल्याएकोमा चिकित्सकले मृत घोषणा गरेपछि पोष्टमार्टमको लागि शव कलैया पठाएको थियो । मृतकको परिवारले आफूहरुसंग सम्पर्क नै नगरी प्रहरीले पोष्टमार्टमको लागि शव कलैया पठाएकोमा पनि असन्तुष्टि जनाएको छ ।निजगढ उद्योग बाणिज्य संघ कार्यसमिति सदस्य समेत रहनुभएका तिमल्सिनाले सिगौंलमा सहकारी संस्थामार्फत रसायनिक मलको खरिद बिक्रीको काम समेत गर्दै आउनुभएको थियो ।स्थानीय समाजसेवीको रुपमा चिनिनुहुने तिमल्सिनाको दुर्घटनामा मृत्यु भएको र नगदसहित सुनका गहना हराएको बारेमा बारा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य अच्युत मैनालीले इलाका प्रहरी कार्यालय निजगढमा पुगेर हिजो जानकारी लिनुभएको छ ।यता इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सन्जिव ओलीले भने मृतकको साथबाट एउटा मोबाइल बाहेक नगद र गहना फेला नपरेको बताउनुभएको छ । उहाँले नगद र सुनका गहना हराएको भनेर परेको जाहेरीको बारेमा अनुसन्धान भइरहेको पनि बताउनुभयो ।

















