पुष्पराज खतिवडा
मनहर्वा,जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १८ मा रहेको साना किसान कृषि सहकरी संस्था लिमिटेड मनहर्वा बाराको १९ औं बार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ । साधारण सभामा बाराका पत्रकार पवन यादवलाई नगदसहित सम्मान गरिएको छ ।
कलैया उपमहानगरपालिका वडा नम्बर २ दोहरीस्थित अमर माध्यमिक विद्यालय परिशरमा सम्पन्न सभाले आफ्ना सदस्यहरुलाई १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
कलैया उपमहानगरपालिकाका मेयर राजेशराय यादव उद्घाटन गर्ने गरी तय भएको कार्यक्रममा मेयर यादव विशेष कारणले उपस्थित हुन नसकेपछि साना किसान कृषि संघ बाराका अध्यक्ष मिश्रीलाल सहनीले कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।
प्रमुख अतिथिसमेत रहनु भएका संघका अध्यक्ष सहनीले सहकारी अभियानले उत्पादनमा जोड दिनु पर्ने बताउनुभयो । कृषि उत्पादनलाई बढवा दिँदै यसको बजारीकरणमा सहकारी संस्थाहरु लाग्नु पर्ने र त्यसका लागि राज्यको सहयोग जरुरी हुने उहाँले बताउनुभयो । सरकार र सहकारी मिले मात्रै गरिवी निवारण र ग्रामीण अर्थतन्त्रमा सुधार हुने उहाँले बताउनुभयो ।
बार्षिक साधारण सभाको अवसरमा संस्थाले गत महिनाबाट संचालनमा ल्याएको दुग्ध चिस्यान केन्द्रकोे प्रमुख अतिथि सहनीले उद्घाटन गर्नुभएको थियो । प्रदेश सरकारको ६ लाख रुपैया र संस्थाको करिब १० लाखको लागतमा चिस्यान केन्द्र संचालनमा आएको संस्थाले जनाएकोे छ ।
२ हजार ४ सयभन्दा बढी साना किसान परिवारका महिला सदस्यहरु आवद्ध संस्थाले जिल्लाको जीतपुरसिमराका उपमहानगरपालिका वडा नम्बर १७ र १८, कलैया उपमहानगरपालिकाको वडा नम्बर १, २, ४, १६, २४, २६ र २७ मा आफ्नो सेवा संचालन गर्दै आएको जनाएको छ ।
सहुलियत कृषि कर्जा प्रदान गरी कृषि उत्पादनमा जोड दिँदै आएको संस्थाले कृषि पसल, दुग्ध चिस्यान केन्द्र संचालन गरेको छ । संस्थाले सदस्यहरुकाबीच बचत तथा ऋण कारोबार, सहकारी शिक्षा, कृषिसँग सम्बन्धित विभिन्न सीपमूलक तालिम कार्यक्रम संचालन गर्दै आएको संस्थाले जनाएको छ ।
करिव ४४ करोडको कारोबार रहेको संस्थाले साधारणसभाबाट सदस्यहरुमा १५ प्रतिशतका दरले शेयर लाभाशं वितरण गर्ने निर्णय गरेको छ । संस्थाले सभाको अवसर जेष्ठ नागरिक, असाय अपाङ्ग, उत्कृष्ट व्यवसायी एवं असल कारोबारकर्ता, कर्मचारी र पत्रकारसहित ९ जनालाई हर्लिक्स, नगद र दोसल्ला ओडाएर सम्मान गरेको छ ।
पत्रकारिताको माध्यमबाट सहकारी अभियानलाई सहयोग गरेको भन्दै बाराका पत्रकार पवन यादवलाई संस्थाले नगद, दोसल्ला र प्रमाणपत्र सहित सम्मान गरेको संस्थाकी अध्यक्ष नयनकला खड्काले जानकारी दिनुभयो ।
संस्थाले बार्षिक गतिविधि र आगामी कार्यक्रम समेटर बार्षिक प्रतिवेदन पुस्तकसमेत छपाइ गरेको छ । संस्थामा हाल स्थानीय २० जना युवाले प्रत्यक्ष रोजगारी पाएको उहाँले बताउनुभयो ।
कार्यक्रममा कृषि संघका पधादिकारीहरु, स्थानीय समाजसेवी, कृषि ज्ञान केन्द्रका प्रतिनिधि र शेयर सदस्यसहित करिब ५ सय जनाको सहभागिता रहेको थियो । अध्यक्ष नयनकला खड्काले प्रस्तुत गर्नुभएको संस्थागत प्रतिवेदन, लेखा समिति संयोजक सुनिता सापकोटाले प्रस्तुत गर्नुभएको आन्तरिक लेखा परीक्षण प्रतिवेदन एवं बार्षिक कार्यक्रम तथा बजेट सभाबाट सुझाव सहित पारित भएको छ ।
संस्था अध्यक्ष खड्काको अध्यक्षतामा भएको सो कार्यक्रममा संचालक समिति सदस्य शर्मिष्ठा दाहाल एवं श्यामता कुमारीले स्वागत एवं संचारकर्मी अनिल गौरवले संचालन गर्नुभएको थियो ।