वीरगन्ज,वीरगन्जमा प्रहरीले हतियारको खरिद बिक्रीमा संलग्न तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर २५ का २२ बर्षिय अनिल पटेल र २० बर्षिय रक्की पटेल तथा पर्साकै पोखरिया नगरपालिका वडा नम्बर २ का २० बर्षिय विक्रान्ता पटेल रहेका छन् । उनीहरुको साथबाट एकथान कटुवा पेस्तोल बरामद गरिएको प्रहरीले जनाएको छ ।

वीरगन्ज १५ लक्ष्मणवा चोकस्थित एक होटलमा बसेर ३ जनाले हतियार खरिद बिक्री गरिरहेको सूचना प्रहरीले पाएको थियो । त्यहि सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले उक्त होटेलमा बसेर खाजा खाइरहेका तीजनामध्ये अनिलको शरिर खानतालाशी गर्दा एकथान कटुवा पेस्तोल बरामद भएको पर्साका प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिनुभयो । पेस्तोल सहित तीनै जना युवक र उनीहरुको साथमा रहेको २ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको खनालले बताउनुभयो । तीनजना युवकलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर हातहतियार सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको खनालले जानकारी दिनुभयो ।

यस्तै वीरगन्जबाट प्रहरीले ठूलो परिमाणमा लागू औषध सहित एक युवकलाई पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर २४ रामगढवाका २६ वर्षिय अफरोज मिया नेपालमा प्रतिवन्धित ६ सय थान लागू औषध सहित पक्राउ परेका हुन् ।

भारतको रक्सौलबाट पैदल वीरगन्ज आउदै गरेका मियालाई वीरगन्ज १९ इनर्वामा प्रहरीले रोकेर चेकजाँच गर्दा मियाले बोकेको तरकारीको झोला भित्रबाट लागु औषध नुर्फिन २०० एम्पुल, डाइजेपाम २०० एम्पुल र फेनारगन २०० एम्पुल बरामद गरेको हो । लागू औषध सहित पक्राउ परेका मियालाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर लागू औषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिनुभयो ।

Leave a Reply