निजगढ,निजगढ नगरपालिका वडा नम्बर ७ स्थित सप्तऋषि महिला पशुपालन सहकारी संस्थाले शुक्रबार २५ जना पशुपालक महिला किसान परिवारलाई १÷१ जोडी बङ्गुरको पाठापाठी निःशुल्क वितरण गरेको छ ।
निजगढ नगरपालिकाको सहयोगमा सहकारी संस्थाले आफ्नै फर्ममा उत्पादन गरेको पाठापाठी समूहका महिला किसानलाई वितरण गरेको हो । निजगढ नगरप्रमुख सुरेशकुमार खनाल, संस्थाका उपाध्यक्ष महेशी कुँवर, निजगढ नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष रामजी बजगाई, कार्यपालिका सदस्य जगतकुमारी अधिकारी, नगरपालिकाका पशु शाखा प्रमुख युगलकिशोर सिंहले किसानलाई पाठापाठी वितरण गर्नुभएको थियो ।
संस्थाले वितरण गरेको पाठापाठीबाट उत्पादन भएपछि अर्को साल किसानले सहकारीलाई एउटा पाठापाठी फिर्ता गर्नुपर्ने व्यवस्था गरिएको संस्थाका प्रवन्धक संतोष अधिकारीले बताउनुभयो । उहाँले किसानबाट फिर्ता आउको पाठापाठी फेरि अन्य किसानलाई वितरण गरिने पनि बताउनुभयो ।
गरिब र विपन्न परिवारका महिला सदस्यलाई पशुपालन पेसाप्रति आकर्षित तुल्याएर आयआर्जन वृद्धि गरी जीवनस्तर सुधार गर्न बङ्गुरको पाठापाठी वितरण गरिएको जानकारी दिनुभयो ।
संस्थाका अध्यक्ष कुँवरको अध्यक्षतामा भएको सो कार्यक्रमको संचालन संस्थाका सदस्य खडकप्रसाद उप्रतीले गर्नुभएको थियो ।