सिमरा,जीतपुरसिमरा उपमहानगरपालिका २ स्थित मुख्य बजारको सार्वजनिक जग्गामा बनेका सटरहरु व्यवसायीहरु आफैले आजबाट खाली गर्न थालेका छन ।उपमहानगरपालिकाले सटर खाली गर्न सूचना जारी गरेपछि लामो समयदेखि व्यवसाय गर्दै आएका व्यवसायीले सटर खाली गरेका छन् । मुख्य बजारबाट नगर अस्पतालतर्फ जाने सडकको उत्तर र रामजानकी मन्दिरको दक्षिणतर्फका सात वटा सटर व्यवसायीहरुले खालि गरेका हुन ।
उपमहानगरपालिकाको कार्यालयले बैशाख १६ गते सूचना जारी गर्दै तीन दिनभित्र सटर खाली गर्न व्यवसायीहरुलाई आग्रह गरेको थियो । बैशाख १८ गतेभित्र सटर खाली नगरे सामान जफत गर्ने चेतावनीसहितको सूचना जारी गरेपछि व्यवसायीहरुले सटर खालि गरेका हुन् ।
सटर खाली गराउन उपमहानगरपालिकाका प्रशासकीय अधिकृत रमेश सुवेदीसहित नगर प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली पुगेको थियो । व्यवसायीले सटर हटाउन थालेपछि सुरक्षाकर्मीसहितको टोलीले खालि गर्न समय दिएको छ ।
साविक पिपरा सिमरा गाविस वडा नं. २ को कित्ता नं. ८३२ मा रहेको जग्गामा बनेका सटरमा मेडिकल, रेडिमेड कपडा, सैलुन संचालनमा थिए ।

सटर हटाउने उपमहानगरपालिकाको निर्णयविरुद्ध उच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेपछि व्यवसायी सटर छाड्न बाध्य भएका हुन् । बैशाख ११ गते उच्च अदालत वीरगञ्जका न्यायाधीश जगतबहादुर थापा र निर्मला शाक्यको संयुक्त इजलासले अघिल्लो अल्पकालिन अन्तरिम आदेश खारेज गरेपछि उपमहानगरपालिकालाई सटर खाली गराउने बाटो खुलेको हो ।

सटर खाली गराउन यसअघि चैत २६ गते जारी गरेको सूचनामा उच्च अदालतको अल्पकालिन अन्तरिम आदेश बाधक बनेको थियो । उपमहानगरले बैशाख ६ गतेभित्र सटर खाली गर्न जारी गरेको सूचनाविरुद्ध व्यवसायी बिमला अधिकारीले बैशाख ३ गते उच्च अदालत वीरगञ्जमा रिट दायर गर्नुभएको थियो । अधिकारीले दायर गरेको उक्त रिटमा बैशाख ४ गते उच्च अदालतका न्यायाधीश पूर्णेश्वरप्रसाद उपाध्यायको एकल इजलाशले कारण देखाउ र अल्पकालिन अन्तरिम आदेश जारी गर्दै पेसी तोकेपछि उपमहानगरपालिका पछि हटेको थियो । सोही रिटको बैशाख ११ गतेको पेसीले अन्तरिम आदेश दिन अस्विकार गर्दै जेठ ४ गतेका लागि अर्को पेसी तोकेपछि उपमहानगरपालिकाले सटर खाली गराएको हो ।अदालतको जेठ ४ गतेको पेसीको निर्णय नआउँदासम्म उपमहानगरपालिकाको कार्यालयले ताला लगाउने र उक्त पेसीको निर्णयअनुसार अघि बढिने प्रशासकीय अधिकृत सुवेदीले जानकारी दिनुभयो ।
सोजन्य तस्बिर

Leave a Reply