निजगढ,निजगढ नगरपालिकाभित्र रहेका सामुदायिक र संस्थागत विद्यालयहरु आगामी साउन २५ गतेबाट संचालनमा आउने भएका छन ।
कोरोना भाइरस सक्रमण जोखिमको कारण बन्द रहेका नगरपालिकाभित्रका विद्यालयहरूमा अब विद्यार्थीहरुको भौतिक उपस्थितिमा कक्षा सञ्चालन हुने भएको हो । नगरपालिका शिक्षा समितिको बिहीबार बसेको बैठकको निर्णय अनुसार विद्यालय संचालन हुन लागेका हुन ।
नगरपालिका शिक्षा शाखाका अधिकृत उत्तम लामिछानेले बिहीबार एक सूचना जारी गर्दै आवश्यक मापदण्ड पूरा गरेर साउन २५ गतेबाट विद्यालयहरुमा प्रतक्ष्य सिकाइ शिक्षण क्रियाकलाप संचालन गर्न निर्देशन दिनुभएकोे छ । अधिकृत लामिछानेव्दारा हस्ताक्षरित सूचनमा प्रतक्ष्य शिक्षण कार्यविधि २०७७ को परिच्छेद ४ अनुसार सम्वन्धित वडा कार्यालय, व्यवस्थापन समिति र अभिभावकहरुसंग समन्वय गरेर विद्यालयमा प्रत्यक्ष सिकाइ शिक्षण क्रियाकलाप संचालन गर्न भनिएको छ । सूचनामा कोरोना संक्रमणबाट बच्न आवश्यक स्वास्थ्य सुरक्षा सर्तकता अपनाउनु पर्ने र यस क्रममा विद्यालय व्यवस्थापन समिति, वडा कार्यालय र अभिभावकहरुसंग गरिएको निर्णयको प्रतिलिपि शिक्षा शाखामा पेश गर्न पनि विद्यालयलाई भनिएको छ ।
निजगढ नगरभित्र २७ सामुदायिक विद्यालयमा १० हजार पाँच सय र ८ संस्थागत विद्यालयमा २ हजार पाँच सय विद्यार्थीहरू अध्ययनरत छन् ।
पछिल्लो समय निजगढ नगर शिक्षाको हब बन्दै गए पनि नगरपालिकाको स्पष्ट कार्यविधि तथा नीति निर्देशन नहँुदा शिक्षाको स्तर खस्किदो अवस्थामा रहेको अभिभावकहरुले गुनासो गरेका छन ।
नगरभित्रका केही निजी र सामुदायिक विद्यालयहरूले भने यसअघि नै विद्यार्थीको भौतिक उपस्थितिमा नै कक्षा संचालन गर्दै आएका थिए ।