राजन कुमार बानिया

पोखरिया,पर्साको पोखरिया नगरपालिका वडा नम्बर ९ सेमरबारी चौकमा यात्रुहरुलाई बस्नका लागि कुर्सीको व्यवस्थासहित वृक्षरोपण गरिएको छ ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता नेजामुद्धीन समानीको पहलमा नयाँ जनशक्ति युवा क्लबले कुर्सीको व्यवस्था गरेको हो । साथै उक्त स्थानमा रहेको धर्मशाला परिशरमा र सडकको दुबै किनारामा वृक्षरोपण गरिएको क्लबका अध्यक्ष रामबाबु चौहानले बताउनुभयो ।

 

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर २ का अध्यक्ष गणेश लाठ र उद्योगी सत्यनारायण क्यालको सहयोगमा कुर्सीको व्यवस्था गरिएको चौहानको भनाइ छ । वृक्षरोपण कार्यक्रमको उद्घाटन गर्दै नेता समानीले जनप्रतिनिधिका कारण पर्सा जिल्लाको दोस्रो सदरमुकामको रुपमा परिचित पोखरिया नगरपालिकामा अपेक्षाअनुसार विकास निर्माण हुन नसकेकोमा असन्तुष्टी व्यक्त गनुभयो ।

नगरपालिकामा हुने अनियमितता, बेथिती, ढिलासुस्तीविरुद्ध निर्भिक भएर आवाज उठाउने बताउँदै नेता समानीले अरुलाई पनि गलतको विरुद्धमा सशक्त हुन अपिल गर्नुभयो । युवा शक्ति नै परिवर्तनको संवाहक भएको बताउँदै उहाँले युवाले चाहेमा केही पनि असम्भव नहुने बताउनुभयो ।

कार्यक्रममा लोसपाका नेता राजनारायण कुर्मी, हरि साह, जय नारायण यादव, क्लबका पदाधिकारी तथा सदस्यको उपस्थिति थियो ।

 

Leave a Reply