काठमाण्डौ – सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिनुभएको छ । ७८ लाख घुस प्रकरणमा मुछिएका उहाँले मंगलवार पदबाट राजीनामा दिनुभएको हो ।सामाजिक सञ्जाल फेसबुकमा मन्त्री गुप्ताले आफूमाथि लागेको आरोपबारे अनुसन्धान गरी सत्य तथ्य कुरा बाहिर ल्याउन सहयोग पुगोस् भनेर प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएको उल्लेख गर्नुभएको छ । कहिलेकाहीँ नखाएको विष पनि लाग्ने मन्त्री गुप्ताले टिप्पणी गर्नुभएको छ ।
घुस प्रकरणबारे प्रधानमन्त्री केपी शर्मा ओलीले सोमवार बालुवाटारमा बोलाएर संलग्न व्यक्तिहरूबारे पनि गुप्तासँग सोधपुछ गर्नुभएको थियो । अडिओको वास्तविकता अनुसन्धानका लागि फरेन्सिक ल्यावमा परीक्षणका लागि पठाइसकिएको छ ।
केही दिनअघि भूमि आयोग कास्कीको अध्यक्ष नियुक्ति साथै कर्मचारीको सरुवाका लागि भन्दै बिचौलिया र मन्त्री गुप्ताबीच लाखौंको घुस डिलको अडिओ सार्वजनिक भएको थियो । यस विषयमा छानबिन तथा मन्त्रीको राजीनामाका लागि दबाव बढेको थियो ।
भगवती न्यौपाने मन्त्री नियुक्त
काठमाण्डौ – राष्ट्रिय सभा सदस्य भगवती न्यौपाने सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्रीमा नियुक्त हुनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा मंगलवार राष्ट्रपति रामचन्द्र पौडेलले न्यौपानेलाई सामान्य प्रशासन मन्त्रीमा नियुक्त गर्नुभएको हो ।सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले मंगलवार नै पदबाट राजीनामा दिनुभएको थियो । ७८ लाख रुपैयाँ घुस प्रकरणमा मुछिएका उहाँले पदबाट राजीनामा दिनुभएको हो ।


















