काठमाण्डौं, साउन ६– सरकारले मंगलबार मध्य रातबाट लकडाउन खुल्ला गरेको छ । गत चैत ११ गतेबाट जारी भएको लकडाउन मंगलबार रातिबाट खोलेको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले बताउनुभयो । आम नागरिकमा परेको मनोवैज्ञानिक त्रास कम गर्न लकडाउन खुला गर्ने निर्णय भएको उहाले बताउनुभयो । लकडाउन खुलेपनि अवस्था हेरेर निषेधित क्षेत्र घोषणा गर्न सकिने उहाले बताउनुभयो । सरकारले लक डाउन खुला गर्ने निर्णय गरेपनि शैक्षिक संस्था, धार्मिक तथा सामाजिक स्थलहरु, ट्युसन सेन्टर, सिनेमा हल, डान्स बार, सैलुन व्युटी पार्लर स्विमिङ पुल लगायतका क्षेत्र अर्को निर्णय नभएसम्मका लागि बन्द नै रहने बताइएको छ । यद्यपी विद्यार्थी भर्ना परीक्षाफल प्रकाशनका काम भदौ १ गतेबाट गर्न सकिने निर्णय भएको उहाले बताउनुभयो । सरकारले साउन १५ गतेबाट होटल, रेष्टुरेण्ट, ट्राभल र ट्रेकिङ एजेन्सी र पर्वतारोहण सम्बन्धि कार्यालयहरु खुला गर्ने निर्णय गरेको छ । सेमिनार र भेला भने गर्न नपाइने सरकारका प्रवक्ता खतिवडाले बताउनुभएको छ । भदौ १ गतेबाट लामो दुरीका सवारी साधन तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय हवाई उडान पनि सञ्चालन गर्ने निर्णय गरेको छ । त्यसका लागि स्वास्थ्य मन्त्रालयले तोकेका आवश्यक सुरक्षाका उपायहरु अपनाउन सरकारले सबैमा आग्रह गरेको छ ।

यसैबीच सरकारले भदौ १ गतेदेखि विद्यालयहरुले विद्यार्थी भर्ना गर्न सक्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्ले गरेका निर्णयहरु सार्वजनिक गर्दै सरकारका प्रवक्ता युवराज खतिवडाले भदौ १ गतेबाट विद्यार्थी भर्ना र परीक्षा सञ्चालन गर्न सकिने बताउनुभएको हो । लकडाउनका कारण चैत पहिलो सातादेखि शिक्षण संस्थाका पठनपाठन र परीक्षा ठप्प छ । विद्यालय र विद्यार्थीलाई आफ्नो विद्यालय पहिचान गर्न अभिलेखीकरण प्रक्रिया खुला गर्ने निर्णय गरिएको शिक्षामन्त्री गिरिराजमणि पोखरेलले बताउनुभयो । कक्षा १ र नयाँ विद्यालयमा भर्ना हुने विद्यार्थीले आफ्नो विद्यालय छनोट गर्न सकेका छैनन् । कतिपय नयाँ कक्षामा भर्ना हुनुपर्ने बालबालिका वैकल्पिक कक्षामा छुटेका छन् । अति नै जरुरी परीक्षाहरु पनि शिक्षण संस्थाले सञ्चालन गर्न सक्ने शिक्षामन्त्री पोखरेलले जनाउनुभयो ।
कोभिड–१९ संक्रमणका कारण विद्यालय र उच्च शिक्षाका प्राय परीक्षा स्थगित गरिएको छ । कक्षा १० र ११ को परीक्षा आन्तरिक मूल्यांकनकै आधारमा गर्ने निर्णय भइसकेको छ । कक्षा १२ को परीक्षा उपयुक्त समयमा सञ्चालन गरिने मन्त्रालयले जनाएको छ । ११ वटै विश्वविद्यालयका परीक्षा विभिन्न वैकल्पिक विधिबाट पनि सञ्चालन गर्न सकिने निर्णय विश्वविद्यालय अनुदान आयोगले गरेको छ । त्यसका लागि कार्यविधि समेत जारी भइसकेको छ । असार १ गतेदेखि सुरु गरिएको वैकल्पिक कक्षालाई साउन महिनाभर पनि निरन्तरता दिइने शिक्षामन्त्री पोखरेलले जानकारी दिनुभयो । वैकल्पिक कक्षा सञ्चालन र भदौ १ पछिको शैक्षिक गतिविधि सञ्चालनको पूर्व तयारी गर्न सामुदायिक विद्यालयका शिक्षकहरु विद्यालयमा हाजिर हुनुपर्ने छ । मन्त्रालयले असार ८ देखि १५ गतेभित्र शिक्षकहरु विद्यालयमा हाजिर भइसक्नुपर्ने ताकेता गरेको हो । विशेष गरी सामुदायिक विद्यालयका अधिकांश शिक्षकहरु लकडाउन र अन्य विविध कारण देखाएर घरमै बस्दै आएका छन् । कतिपय विद्यालयमा अनलाइन, टेलिभिजन, रेडियो लगायतबाट गरिने वैकल्पिक शिक्षण सिकाइको सुरुवात नै हुनसकेको छैन । वैकल्पिक कक्षामा सहभागी विद्यार्थीले शिक्षकहरुले सहजीकरण गर्नुपर्ने कार्यविधिमा उल्लेख छ । मन्त्रालयले जेठमा नै वैकल्पिक शिक्षण सम्बन्धी कार्यविधि जारी गरेर असार १ गतेदेखि देशभर पठनपाठन थाल्न अभियान सुरु गरेको छ । मन्त्रालयले विद्यालयहरुमा निर्माण गरिएको क्वारेन्टाइन हटाउन पनि मन्त्रिपरिषद्मा प्रस्ताव लगेको थियो । कोरोना संक्रमित र विदेशबाट फर्केकाहरुलाई राख्न मुलुकभरका ४ हजार ५ सय विद्यायमा क्वारेन्टाइन निर्माण गरिएको छ । विद्यालय पुनःसञ्चालनको पूर्व तयारी गर्नुअघि क्वारेन्टाइनहरु हटाएर निर्मलीकरण गरिनुपर्ने मन्त्री पोखरेलले बताउनुभयो । त्यसका लागि स्थानीय तहले नेतृत्व लिनुपर्ने उहाको भनाइ छ ।

Leave a Reply