सर्लाही,सर्लाहीको बागमती नगरपालिकाका निलम्बित नगरप्रमुख भरत थापा र उपप्रमुख लीलाकुमारी मोक्तानसहित ६ जनाविरुद्ध वन मुद्दा दायर भएको छ ।नगरप्रमुख थापा, उपप्रमुख मोक्तान, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल, तत्कालीन लेखा अधिकृत विश्वराज पोखरेल, नगरपालिकाका इन्जिनियर सागर पौडेल र जिल्ला समन्वय समितिका तत्कालीन प्रमुख मेथुर चौधरीविरुद्ध सर्लाही जिल्ला अदालतमा बिहीवार मुद्दा दर्ता भएको हो ।
वन अतिक्रमण, ताल निर्माण, ढुङ्गा गिट्टी, बालुवा र माटो उत्खनन गरी हानी नोक्सानी गरेको अभियोगमा उनीहरु विरुद्ध मुद्दा दायर भएको हो । वन तथा वातावरण मन्त्रालयले दायर गरेको मुद्दाको दर्ता नम्बर ०८१–सी २–०००१ छ ।
उनीहरूविरुद्ध ५ वर्षसम्मको कैद वा एक लाख रुपैयाँसम्मको जरिवाना वा दुवै सजाय हुनुपर्ने माग दाबी छ ।
२०७४ सालमा बागमती नगरपालिकामा निर्वाचित भएका नगर प्रमुख भरत थापाले नगरपालिकाको नगर सभा तथा कार्यपालिकाबाट निर्णय गराएर सागरनाथ वन विकास परियोजनाको वन क्षेत्रको जग्गामा भरत ताल निर्माण गराएका थिए ।

Leave a Reply