नरेश गुप्ता
बरियारपुर,बारामा जबरजस्ती करणीका घटनामा वृद्धि भएको छ । बिगत ६ महिनायता जिल्लामा जबरजस्ति करणीका झण्डै २ दर्जन मुद्दा दायर भएको जिल्ला प्रहरी बाराको तथ्याङ्कले देखाएको छ ।
आर्थिक वर्ष २०७७÷०७८ को पुष महिनादेखि असार मसान्तसम्मका ६ महिनाको तथ्याङ्क हेर्दा बारामा जबरजस्ती करणीको घटना बढेको जिल्ला प्रहरी कार्यलय बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिनुभयो । यस्ता घटना जिल्लाको दक्षिणी भेगमा भन्दा उत्तरी भेगमा बढी भएको पाइएको पनि प्रवक्ता मिश्रले बताउनुभयो । उतरी भेगका होटेल, रेष्टुरेन्ट र लजहरुमा जबरजस्ती करणी घटना बढी हुने गरेको पाइएको उहाँले जानकारी दिनुभयो ।
प्रहरीले करणी अभियोगमा गत आर्थिक वर्षको असार मसान्तसम्ममा १३ जना पक्राउ गरेकोमा १० जना पुर्वपक्षको लागि वीरगन्जस्थित कारागार चलान भएका छन । उनीहरु मध्ये ३ जना भने अहिले पनि थुनामा रहेका छन । आर्थिक अवस्था कमजोर र शिक्षाको कमी जस्ता समस्यामा परेकाहरुलाई आफ्नै साथीभाइ, छिमेकी र चिनेको साथीबाट जवरजस्ति करणीका घटना हुने गरेको पाइएको पनि प्रहरी प्रवक्ता गौतम मिश्रले बताउनुभयो ।
त्यसैगरी बारामा जबरजस्ती करणी प्रयासका ३ वटा घटना भएको र मुद्दा दायर भएकोमा हाल १ जनालाई पुर्पक्षको लागि वीरगन्ज कारागार चलान गरिएको र अन्य दुई जनामाथि प्रहरी हिरासतमा राखी अनुसन्धान भइइरहेको प्रहरीले बताएको छ । जबरजस्ति करणी घटनामा पीडितको जाहेरी र स्वस्थ्य परीक्षणको आधारमा मुद्दा दर्ता गरि अभियुक्तलाई पक्राउ गरि कानुनी कारबाही हुने गरेको प्रहरी प्रवक्ता गौतम मिश्रले बताउनुभएको छ ।