वीरगन्ज,कोरोना संक्रमितको उपचारमा वीरगन्जका नीजी अस्पतालहरुले मनोमानी शुल्क लिइरहेको विषयमा वीरगन्ज महानगरपालिकाले ध्यानाकर्षण भएको जनाएको छ । मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै महानगर प्रमुख विजय सरावगीले वीरगन्जका केहि नीजी अस्पतालले कोरोना संक्रमितको उपचार बापत लिने शुल्कका बारेमा सन्चारमाध्यम र सामाजिक सन्जालमा उठाइएको विषयप्रति महानगरपालिकाको ध्यानाकर्षण भएको जनाउनु भएको छ । नीजी अस्पतालले बिरामीको उपचारमा लिइरहेको शुल्कका बारेमा महानगरपालिकाले अनुगमन गर्ने र सरकारले तोकेको भन्दा बढि शुल्क लिएको पाइएमा सम्बन्धित अस्पताललाई कारबाहीको दायरामा ल्याउने चेतावनी पनि सरावगीले दिनु भएको छ । अहिलेको यस्तो महासंकटका बेलामा अप्ठेरोमा परेका नागरिकसंग उपचारका बहानामा मनोमानी रकम नलिन सरावगीले आग्रह गर्नु भएको छ । कोरोना भाइरस संक्रमणका कारण समुदाय नै अप्ठेरोमा परेको स्थिति मानवीय सेवाको उच्च भावनाले काम गर्न र कोरोना संक्रमितको उपचारमा संवेदनशील भइ दिन वीरगन्जमा सन्चालित सम्पूण नीजी अस्पतालका सन्चालकहरुसंग नगर प्रमुख सरावगीले अपिल पनि गर्नु भएको छ ।