वीरगन्ज,प्रदेश नम्बर २ का खानेपानी तथा उर्जा मन्त्री ओमप्रकाश शर्माले आश्वासन बाँड्ने भन्दा पनि काम गरेर देखाउने दावी गर्नुभएको छ । वीरगन्ज उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य संघ प्रदेश नम्बर २ ले सयुक्त रुपमा आयोजना गरेको सम्मान र स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले बाराको अमलेखगञ्जका बासिन्दाका लागि खानेपानीको व्यवस्था गर्ने प्रथम योजना भएको बताउनुभयो ।
रक्सौलबाट अमलेखगञ्जसम्म पाइपमार्फत पेट्रोल जान सक्ने ठाउँमा पथलैयाबाट पानी किन जान नसक्ने भन्दै उहाँले प्रतिप्रश्न गर्नुभयो । आफ्नो मन्त्रालयमा भएको ३५ करोड बजेटमध्ये ५ करोड अमलेखगञ्जमा खानेपानीको योजनाका लागि विनियोजन गरेको शर्माले बताउनुभयो । कांग्रेसका नेता आत्माराम ओझाको सम्मानमा प्रदेश २ का आठवटै जिल्लामा ओभरहेड ट्यांकी निर्माण गरी नवजल परियोजना सञ्चालन गर्ने, वैकल्पिक उर्जाको माध्यमबाट आत्माराम ओझा उज्यालो अभियान र दुखा सहनी स्वच्छता अभियान अन्तर्गत स्वच्छ पिउने पानीको पहुँचमा काम गर्ने योजना मन्त्री शर्माले सुनाउनुभयो ।
वीरगन्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीले वीरगन्जलाई लोडसेडिंग मुक्त गर्न मुख्य भूमिका निर्वाह गरेका शर्मा मन्त्री बनेपछि बिशेष गरी वीरगन्जवासीमा आशाको दियो बलेको बताउनुभयो । प्रदेश नम्बर २ का मुख्यमन्त्री पर्साबासी भएपनि त्यसको फाइदा नभएको बताउँदै मेयर सरावगीले मन्त्री शर्माबाट वीरगन्जले पनि अपेक्षा गरेको बताउनुभयो । स्थानीय सरकार र प्रदेश सरकारबीचको तालमेल मिलाएर समन्वय गर्दै काम गर्न सके विकासले फड्को मार्न सक्ने सरावगीको भनाइ छ ।