पुष्पराज खतिवडा

मनहर्वा,जीतपुरसिमरा उपमहानगगरपालिकाको बडहर्वा क्षेत्रमा प्रदेशकै गुणस्तरीय माटो फेला परेको छ । माटो तथा मल परीक्षण प्रयोगशाला राजविराजले शुक्रबार जीतपुरसिमरा उपमहानगरपालिको वडा नम्बर १८ को बडहर्वामा आयोजना गरेको निःशुल्क माटो परीक्षण शीविरमा वडा नम्बर १७ र १८ का १ सय ४१ जना किसानको खेतबाट संकलित माटोको नमुना परीक्षणबाट यस्तो नतिजा निकालेको हो ।

 

प्रदेश नम्बर २ को राजविराजमा रहेको प्रयोगशालाका प्रमुख एवं माटो विज्ञ सुनिलकुमार सिंहले प्रदेशकै उत्कृष्ठ माटो फेला परेको बताउनुभयो । साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वाको सहजीकरण एवं कृषि ज्ञान केन्द्र बाराको सहभागितामा प्रयोगशालाले सहकारीका कृषि प्राविधिकहरुको समूहले संकलन गरेको माटो परीक्षण गरेको थियो ।

 

‘माटोको नमुना परीक्षण गर्दा ८० प्रतिशत बढी नमुनामा पि.एच.अर्थात अम्लीय पदार्थ सुन्तुलित पाइयो, माटो विज्ञ सिंहले भन्नु भयो,  ‘प्रदेश २ को माटोको समग्र पि.एच.६०–७० प्रतिशत छ । तर यसक्षेत्रमा मात्रै ८० प्रतिशतभन्दा बढी देखिएको छ, जुन प्रदेशकै उत्कृष्ट माटो हो ।’

 

नतिजाले यस क्षेत्रका किसानले खेतमा प्राङ्गारिक मलको प्रयोगमा विशेष ध्यान दिने गरेको देखियो । यस्तै रसायनिक मल सन्तुलित रुपमा प्रयोग भएको पनि पाइएको  र माटो परीक्षणको नतिजाले सचेत किसानहरुले खेती गर्ने गरेको देखाएको सिंहले बताउनुभयो ।

 

माटोमा शुन्यदेखि १४ प्रतिशत अम्लीय पदार्थ हुने गर्दछ । माटो विज्ञ सिंहका अनुसार ०–६.४ र ७.६–१४ प्रतिशत अम्लीय माटोलाई हानिकार मानिने गरिन्छ । यस्तो माटोमा जतिसुकै मेहनेत गरेपनि अपेक्षाकृत उत्पादन लिन सकिँदैन । ६.५–७.५ सम्मको माटोलाई तटस्थ अर्थात सन्तुलित माटो मानिन्छ । यस्तो माटोबाट सबै खाले बोटो विरुवाले उत्पादन दिने उहाँले बताउनुभयो ।

 

सन्तुलित माटोमा हालिने मलबाट सहजैसँग बोट विरुवाले चाहिने तत्व लिन सक्छन् । तर अम्लीय माटोमा विरुवाले सहजरुपमा पोषक तत्व ग्रहण गर्न नसक्ने हुँदा उत्पादनमा हस आउने सिंहले बताउनुभयो । माटोमा अम्लीय पदार्थ परीक्षणबाट थाहा हुने हुँदा समान्यतया बाली लगाउनु पूर्व माटोको परीक्षण गर्नु पर्ने छ । त्यसो गर्न संभव नभए पनि वर्षमा एकपटक अनिवार्यरुपमा माटोको परीक्षण गराएर आवश्यक उपचार गर्नुपर्ने उहाँले बताउनुभयो ।

 

अम्लीय माटोलाई सुधार गर्न कृषि प्राविधिकको सल्लाहमा आवश्यक कृषि चुनको प्रयोग गर्न सकिने छ । यसका साथै अत्यावश्यक पदार्थ नाईट्रोजन, फस्फोरस एवं पोटाँसको मात्रा माटोमा भए नभएको पत्ता लगाइ आवश्यक मात्र प्रयोग गरेर माटोको सुधार गर्न सकिने उहाँले बताउनुभयो ।

 

शीविरमा प्रयोगशालाका प्रमुख एवं विज्ञ सिंह सहितका ४ जना, सहकारी संस्थाका कृषि प्राविधिक जलेन्द्र चौधरी, तालिम प्राप्त संचालक शर्मिष्ठा दाहाल एवं नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका कृषि विषयमा अध्ययनरत आधा दर्जन छात्रछात्राहरुले माटो परीक्षण गरेका थिए । माटो परीक्षण घुम्ती प्रयोगशालाको सुविधासहितको बसबाट सेवा दिइएको सहकारी संस्थाकी अध्यक्ष नयनकला खड्काले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here