निजगढ,बारा जिल्लाको कलैया नगरपालिकामा शुक्रबार एकजनाको ज्यान लिएर आतंक मच्चाएको जंगली हात्ती शनिबार रौतहट जिल्लामा पुगेको छ । रौतहट जिल्लाका विभिन्न बस्तिमा बिहानदेखि हात्ती देखा परेपछि स्थानीय त्रसित बनेका छन । बिहान कर्कचकर्मैयामा देखिएको हाति देवाहीबाट शिवनगरको शिब मन्दिर हुदै मिठुअवा आसपासमा देखा परेको स्थानीयले बताएका छन ।
शिवनगरमा एक स्थानीयको घरमा हात्तीले क्षति पुर्याएको छ । हात्ती नियन्त्रणका लागि डिभिजन वन कार्यालयबाट कर्मचारीहरु खटिएको प्रहरीले जनाएको छ ।
बाराको चारकोसे झाडीको जंगलबाट शुक्रबार बिहान निस्किएको सो हात्तीले कलैया उपमहानगरपालिका(२ औधापुरका ४५ वर्षीय रामदेव राउत कुर्मीको ज्यान लिएको थियो । शुक्रबार दिनभरी बाराको महागढीमाई नगरपालिकास्थित पसाह नदी किनाराको काँसघारीमा लुकेर बसेको हात्ती नियन्त्रणमा लिन भनेर पर्सा वन्यजन्तु आरक्षका घरपालुवा हात्ती सहित सुरक्षाकर्मीको टोलीले महागढीमाई नगरपालिकामा पुगेको थियो । हात्ती नियन्त्रणमा लिन भनेर रातभरि हात्तीको रेक्की गरिएको भएपनि शनिबार बिहान सो हात्ती रौतहटमा देखा परेको खबर आएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता एंव डिएसपी गौतम मिश्राले जानकारी दिनुभयो ।