नरेश गुप्ता
बरियारपुर,बाराको पचरौता नगरपालिका वडा नम्बर १ पिपरपातीस्थित नेपाल भारत सिमा क्षेत्रको दशगजामा भारतीय नागरिकले मदिरा पसल संचालन गर्दै आएका छन ।
बिगत चार वर्षदेखि पिपरपातीस्थित सिमा नाकाको दशगजामा भारत बिहार पुर्वी चम्पारण झझरा निवासी रामनिवाश साहले मदिरा पसल संचालन गर्दै आएका हुन । दुई देशबीचको सिमा क्षेत्रमा प्रहरी कै संरक्षणमा साहले मदिरा पसल संचालन गर्दै आएको स्थानीयले गुनासो गरेका छन ।
दुई देशबीचको सिमा नाकाको दुई सय मिटरभित्र कुनै किसिमको मानवीय गतिविधि संचालन गर्न अन्तर्राष्ट्रिय कानुनलेसमेत निषेध गरेको भएपनि बाराको सिमा क्षेत्रमा खुल्लमखुल्ला मदिरा पसल संचालन हुनु र कुनै कारबाही पनि नगर्नुले प्रहरी प्रशासनमाथि नै प्रश्न चिन्ह खडा भएको छ ।
प्रहरी चौकी पिपरपाती र सशस्त्र प्रहरीको फोरवार्ड बेस क्याम्प नजिकै मदिरा पसल निर्धक्क रुपमा संचालन भएपछि त्यस क्षेत्रमा अपरधिक क्रियाकलाप समेत बढेको स्थानीयहरुको गुनासो छ । भारतीय नागरिकले सिमा नाकामा राजश्व छली गरि मदिरा पसल संचालन गरेकोमा स्थानीय तहले पनि नियन्त्रणको लागि कुनै साचो देखाएको छैन ।
दशगजामा संचालनमा रहेको मदिरा पसलको बिषयमा प्रहरी चौकी पिपरपातिका प्रहरी सहायक निरीक्षक अजय पंण्डितले जिल्ला प्रहरी कार्यलय बाराले बिना दर्ता सिमा नाकामा मदिरा पसल बन्द गर्न निर्देशन दिदा पनि संचालकले अहिलेसम्म बन्द नगरेको बताउनुभयो ।