काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले वित्तीय अपराध न्यूनीकरणका लागि सम्पत्ति शुद्धीकरण निवारण प्रणालीसँग सम्बन्धित निकायबीच समन्वयात्मक प्रयास अपरिहार्य भएको बताउनुभएको छ ।
सम्पत्ति शुद्धीकरण निवारण प्रथम राष्ट्रिय दिवस २०८१ का अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले प्रणालीमा आबद्ध सूचक संस्था, नियामक निकाय, कानून कार्यान्वयन गर्ने निकाय र न्यायिक निकायसमेतको समन्वयमा जोड दिनुभयो । उहाँले असल मनसायका साथ आफ्नो पेशा, व्यापार, व्यवसाय गर्ने सबैमा विचलित नभई आफ्नो व्यावसायिक एवम् पेशागत जीवन निर्धक्क भई काम गर्न आग्रह गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीको सन्देश कार्यक्रमस्थलमा वाचन गरी प्रस्तुत गरिएको हो । ‘वित्तीय क्रियाकलापमा पारदर्शिता सम्पत्ति शुद्धीकरण निवारणमा प्रतिबद्धता’ भन्ने मूल नाराका साथ सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको आयोजनामा पहिलो पटक यो दिवस मनाइएको हो ।सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन २०६४ जारी भएको अवसर पारेर नेपाल सरकारले यस वर्षदेखि प्रत्येक माघ १४ गते सम्पत्ति शुद्धीकरण निवारण प्रथम राष्ट्रिय दिवस मनाउने निर्णय गरेको हो ।
यस्तै कार्यक्रममा उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सम्पत्ति शुद्धीकरण निवारणका लागि सम्बन्धित निकायहरूले अनुसन्धान र अभियोजनको कामलाई तीव्रता दिन आवश्यक रहेको बताउनुभएको छ ।
वित्तीय अपराध न्यूनीकरणका लागि सम्पत्ति शुद्धीकरण निवारण प्रणालीसँग सम्बन्धित निकायहरूले समन्वयात्मक रूपमा काम गरी अनुसन्धान र अभियोजनलाई प्राथमिकताका साथ काम गर्नुपर्ने अर्थमन्त्री पौडेलको भनाइ छ । सम्पत्ति शुद्धीकरणमा दोषी भएका जो कसैलाई पनि दण्डित गरिने उहाँले दाबी गर्नुभयो ।