वीरगन्ज,वीरगन्जमा बुधबार राति २ मोटरसाइकल आपसमा ठोक्किँदा १ जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । बुधबार राति ९ बजेको समयमा वीरगन्ज महानगरपालिका १४ गण्डक चोकमा दुर्घटना भएको प्रहरीले जनाएको छ । वीरगन्ज पथलैया सडकखण्डमा परवानीपुरबाट वीरगन्जतर्फ आउँदै गरेको प्र २–०३–००४ प ७९३० नम्बरको मोटरसाइकल र वीरगन्जबाट परवानीपुरतर्फ जाँदै गरेको ना २५ प ४००३ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकहरू घाइते भएका थिए ।प्रहरीले घाइतेहरूलाई उद्धार गरी उपचारका लागि एल एस न्यूरो अस्पताल वीरगन्जमा भर्ना गरेको थियो ।उपचारकै क्रममा बिहीबार बिहान २ बजे बारा परवानीपुर गाउँपालिका ४ चैनपुरका २४ वर्षीय सुरज सर्राफको मृत्यु भएको हो । घाइते वीरगन्ज–१६ का २६ वर्षीय विपिनकुमार कुशवाहाको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।




















