नरेश गुप्ता

बरियारपुर,नेकपा एमालेका केन्द्रीय सद्स्य अच्युत मैनालीले नेकपा एमालेबाट अलग्गिएका नेताहरु फेरि फर्केर एमालेमै आउने बताउनु भएको छ ।

नेकपा कम्युनिष्ट पार्टी पचरौता नगरपालिकाद्वारा वडा नम्बर ८ अमरपट्टीमा शनिबार आयोजित वडा अधिवेशनलाई प्रमुख अतिथिको आशनबाट शंवोधन गर्दै नेता मैनालीले सत्ता र भत्ताको लोभमा दुई तिहाईको सरकारलाई ढालेर नयाँ पार्टी गठन गर्नुभएका माधव नेपाललगायतका नेताहरु फेरि मूल पार्टीमै फर्किने बताउनुभयो ।

एमाले अहिले पनि देशको सबैभन्दा ठूलो पार्टी भएको बताउदै आगामी निर्वाचनमा पनि एमाले नै ठुलो पार्टी बन्ने नेता मैनालीले ठोकुवा गर्नुभयो । नेकपा एमाले प्रदेश नम्बर २ को सहईन्चार्जसमेत रहनु भएका मैनालीले देश र जनताको भलाइ र हितमा नेकपा एमालेले सदैब काम गरेको बताउनु भयो ।

लगातारको वर्षाले कृषकहरूको धान बाली क्षति भएको अवस्थामा सरकारले उचित क्षतिपूर्ति व्यवस्था गर्नुको सट्टो सत्तामा भएको नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल धुलिखेलमा रमाइरहेको आरोप पनि उहाँले लगाउनु भयो । देशमा बढेको हत्या हिंसा, सवारी दुर्घटना, भ्रष्टाचार नियन्त्रण गर्न वर्तमान सरकारले कुनै कदम नउठाएको भन्दै नेता मैनालीले देशमा अपराधिक क्रियाकलाप बढेको र कानुनी राज्यको उपहास भएको बताउनुभयो ।

ज्येष्ठ नागरिक अपाङ्ग, बालबालिकाको पोषणल, समाजिक सुरक्षा भत्ता जस्ता लोकप्रिय कार्यक्रम नेकपा एमालेको सरकारले नै संचालन गरेको उहाँले बताउनुभयो । ‘पार्टीलाई थप मजबुत तुल्याएर निर्वाचनमा पहिलो नम्बरको पार्टी बनाउन कार्यकर्ताले एकतावद्ध भइ अघि बढनु पर्छ’ उहाँले भन्नुभयो ।

पचरौता नगर कमिटीद्वारा आयोजना गरिएको वडा अधिवेशन अजय चौधरीको अध्यक्षतामा सम्पन्नन भएको थियो । वडा अधिवेशनमा नेकपा एमालेका अर्का केन्द्रीय सदस्य बलवीर चौधरी, पचरौता नगरपालिकामा मेयरका प्रत्यासी जलान्धर सिह, केवल चौधरी, गगनदेव यादव, सतपाल यादवलगायतले वडा अधिवेशनको सफलताको लागि शुभकामना मन्तव्य दिनुभएको थियो ।

त्यसैगरी कलैया उपमहानगरपालिका वडा नम्बर २३ बैराठपुर, मोतिसर र डुमरवाना लगायत वडाहरुमा पनि शनिबार वडा अधिवेशन सम्पन्न भएको नेकपा एमाले जिल्ला कमिटी सचिव महमद समिरले जानकारी दिनु भएको छ ।

Leave a Reply