कलैया,बारा र पर्सामा जारी निषेधाज्ञा पुनः एकपटक थपिएको छ । जारी निषेधाज्ञाको अवधि फेरि थप्दै दुबै जिल्लामा असार ६ गते राति १२ बजेसम्मका लागि बढाइएको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) बाराको गत जेठ २८ गते बसेको बैठक गरेको सिफारिस अनुसार यस्तो निर्णय गरिएको जारी जिल्ला प्रशासन कार्यलयव्दारा सूचनामा उल्लेख छ । डिसिसिएमसीको निर्णय अनुसार बाराका प्रमुख जिल्ला अधिकारीबाट असार ६ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञाको आदेश भएको छ । निषेधाज्ञा केही संशोधनसहित जारी भएको छ । निषेधाज्ञाको आदेश अनुसार बजार तथा पसल बिहान ६ बजेदेखि बिहान ११ बजेसम्म खोल्न पाइने छ ।

त्यसैगरी पर्सा जिल्लामा पनि बैशाख १६ गतेबाट जारी गरिएको निशेधाज्ञाको समय फेरि थपिएको छ । यद्यपि यसपाली भने निषेधाज्ञा केही खुकुलो गरिएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द ्र(डिसिसीएमसी) ले जनाएको छ । केन्द्रको आइतबार बसेको बैठकले आइतबार रातिबाट सकिने निषेधाज्ञाको समय पुनः थप गरी असार ६ गतेसम्मका लागि लम्बाउने निर्णय गरिएको छ । यसपाली भने निशेधाज्ञाको शैली केही परिवर्तन गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार अब सोमबारबाट मध्यान्ह १२ बजेसम्म जनस्वास्थ्यका सबै मापदण्डहरु पूरा गरी सबै प्रकारका व्यवसायहरु वीरगन्जमा संचालन गर्न पाइने छ ।

तर सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ पुल, सपिङ मल, हाट बजार, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, संग्रहालय, आदि सञ्चालन गर्न अझै पनि रोक लगाइएको छ । मृत्यु संस्कार, विवाह, ब्रतबन्ध जस्ता सामाजिक कार्यमा बढीमा २ वटासम्म सवारी साधन र सोही व्यहोराको ब्यानर प्रयोग गरी प्रयोग गर्न सकिने छ । विवाह, ब्रतबन्ध÷नामाकरण संस्कार जस्ता कार्यको हकमा बढीमा १० जना सम्मको उपस्थितिमा आफ्नै घर वा आफु बसेको स्थानमा स्वास्थ्य सुरक्षाको मापदण्डको परिपालना गरी गर्न सकिने छ । होटेल एवं पार्टी प्यालेसमा यस्ता कार्यक्रम गर्न÷गराउन पाइने छैन । अत्यावश्यक सेवा बाहेकका अन्य सार्वजनिक एवं नीजि सेवा प्रवाह पन हाललाई स्थगन गरिएको छ । यद्यपि अत्यावश्यक बस्तुहरुको आपूर्तिका लागि कुनै रोकतोक नलगाउने निर्णय भएको छ । डिसिसीएमसीको बैठकले पर्सा जिल्लामा जारी गरिएको निषेधाज्ञाको समय छैटौं पटक थप गरी अब असार ६ गते मध्य रातिसम्मका लागि लम्बाएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here