विशेष अदालतले मालपोत कार्यालय सिमराका नायव सुब्बा मदनप्रसाद गुप्तासँग एक करोड रुपैयाँ बराबरको धरौटी माग गरेको छ । गत ११ मंसिरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुप्ताविरुद्ध झन्डै १५ करोड रुपैयाँ अवैध सम्पत्ति आर्जन गरेको दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो । यसबाहेक पनि गुप्ताविरूद्ध विषेश अदालतमै चार वटा विभिन्न भ्रष्टाचारसँग सम्वन्धित मुद्दा विचाराधीन नै छन । उनी यसअघिकै मुद्दामा ६५ लाख रुपैयाँ धरौटी माग्दा नबुझाएपछि थुनामै थिए । उनले सम्पत्तिमाथिको अनुसन्धान जारी नै रहने बुझेपछि धरौटी नबुझाइ थुनामा गएका थिए ।
अदालतको आदेशअनुसार प्रहरीले आइतबार उपस्थित गराएपछि गुप्तासँग बयान लिने काम भएको थियो । थुनछेक बहस सकिएपछि विशेष अदालतका अध्यक्ष शिवराज अधिकारी तथा सदस्यद्वय बालेन्द्र रुपाखेती र डा. रवि शर्मा अर्यालको संयुक्त इजलासले धरौटी माग्ने आदेश दिएको हो । अदालतमा सूचना अधिकारी तथा उपरजिस्ट्रार इन्द्रकुमार खड्काका अनुसार धरौटी बुझाउन सक्दिन भनेपछि थुनामै पठाइएको छ ।
उनले सरकारी सेवामा प्रवेश गरेको २९ वर्षमा खर्च र लगानी मात्रै १९ करोड ३६ लाख ६१ हजार रुपैयाँ देखिएको थियो । उनी सरकारी सेवामा प्रवेश गरेपछिको वैध आय ४ करोड ५४ लाख ७२ हजार रहेको र १४ करोड ८१ लाख ८९ हजारको स्रोत नखुलेको अख्तियारको दाबी थियो । उनीविरूद्ध गत १ जेठमा २ करोड ५० लाख रुपैयाँ विगो भएको एउटा र विना विगोको सहित दुई वटा मुद्दा दर्ता भएको थियो ।
भने ३ जेठमा ४ करोड ५८ लाख र २ मंसिर ७७ लाख ८६ हजार विगोसहितको मुद्दा दर्ता भएको थियो । सरकारी कोषमा दाखिला हुनुपर्ने राजस्वबापतको रकम हिनामिना गरेको, सरकारी प्रमाण नष्ट गरेको, नक्कली रसिद प्रयोग गरेकोलगायतका आरोपमा अख्तियारले विषेश अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ । साभार : नयाँ पत्रिका