वीरगन्ज,धानको ब्याड राख्ने समय सुरु भएपछि पर्साका किसानहरुलाई बीउ खोज्न भारतीय बजारमा जानु पर्ने बाध्यता रहेको छ । निषेधाका कारण वीरगन्ज बजार बन्द रहेको र गाँउघरका बजारमा पनि बीउ नपाएका कारण सीमावर्ती गाँउका किसानहरु यसपाली पनि धानको बीउका लागि भारतीय बजारमा जान बाध्य भएका हुन् । स्वदेशमै मल र बीउ सहज रुपमा नपाइएपछि पर्साको ग्रामिण क्षेत्रका किसानहरु सीमावर्ती भारतीय बजारबाट धानको बीउ ल्याएर खेती गर्न बाध्य हुने गरेका छन् ।

प्रदेश र स्थानीय सरकारले कृषिमा केन्द्रित रहेर करौडौका रकम बिनियोजन गरेपनि यस्तो रकम तालिम, गोष्टीमा मात्र खर्च गरेपछि किसानलाई खाँचो परेको बेला अभाव भएको हो । सरकारले बिउ र मल सहज रुपमा उपलब्ध नगराउदा किसानहरु भारतको सिमावर्ती शहर सिकटा, भेलाही, मैनाटाड लगायतका बजारमा धानको बिउका लागि भौतारिनु परेको पर्साको कालिकामाई गाउँपालिका भेडिहारीका किसान मंसुर मियाले बताउनुभयो । सरकारले किसानलाई आवश्यक बिउ बिजनको लागि स्थानीय तहमा रकम पठाए पनि आफुहरुले उक्त रकमबाट लाभ लिन नसकेको र भारतीय बिउकै भरमा खेती गर्ने गरेको उहाँले गुनासो गर्नुभयो । सरकारले बजेट भाषणमा कृषि उत्पादन दोब्बर बनाउने घोषणा गरेपनि खेती लगाउने समयमा किसानहरुले बिउ र मलका लागि सधै हैरानी खेप्नु परेको छ । भारतबाट बिउ भित्र्याउदा कमसल र उत्पादनमा ह्रास आउने बिउ भए पनि त्यसैलाई रोप्न किसानहरु बाध्य रहेको छिपहरमाई गाउँपालिका वडा नम्बर ५ भिस्वाका किसान हरिओम साहको गुनासो छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here