नेपाली कांग्रेस यति बेला आन्तरिक विवादमा रुमल्लिरहेको छ। गुट–उपगुटमा विभाजित भएकै कारण इतिहासकै सबैभन्दा कमजोर अवस्थामा पुगेको कांग्रेसभित्रआन्तरिक एकता कायम हुनुको सट्टा झन कमजोर बन्दै गएको छ।बाहिर एउटा पार्टीजस्तो देखिने कांग्रेस भित्रभित्र दुईवटा भइसकेको छ। अझ तीनवटा चारवटा बनाउन शीर्ष नेताहरूको उपगुट थप सक्रिय देखिन्छ।सभापति शेरबहादुर देउवाको हठले पार्टीलाई अझ कमजोर बनाउने संकेत देखिएको छ, आफू प्रभावमा नभए दल धराशयी भएपनि होस् भन्ने उहाँको मनस्थिति दुर्भाग्यपूर्ण बन्नगएको छ।
संस्थापन पक्षमा सभापति देउवाको एउटा समूह छ भने वरिष्ठ नेता रामचन्द्र पौडेलको अर्को समूह अस्तित्वमा देखिन्छ। पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाको छुट्टै गुट रहेको कांग्रेसभित्र शीर्ष नेताहरूको थप उपगुट पनि रहेको छ।बाहिर एक भित्र दुई भैसकेको कांग्रेस भित्रको आन्तरिक छलफलका लागि पौडेल समूहको छुट्टै बैठक हुने गरेको छ भने सिटौला समूहको छुट्टै बैठक हुने गरेको छ।पौडेल समूहको बहिस्कारका बाबजुद पनि संस्थापन पक्षले केन्द्रीय समितिबाट बहुमतद्वारा १४औं महाधिवेशनको कार्यतालिका, संख्या थपसहित विभाग गठन गर्नेलगायत महत्वपूर्ण निर्णय गरेपछि त कांग्रेस भित्रको विवाद अझ छताछुल्ल भएको छ।
बिशेषगरी पार्टीभित्रको भागबण्डा लिने र दिने चलन कांग्रेसको पुरानै रोग हो। कुनै समय भागवण्डा नमिलेकै कारण पार्टी फुटाएर कांग्रेस प्रजातान्त्रिकको नेतृत्व गर्नु भएका सभापति देउवा अहिले भाग दिने ठाउँमा हुनुहुन्छ। पहिला भाग दिने ठाउँमा रहेको पौडेल समूह अहिले माग्ने ठाउँमा छ।आन्तरिक विवादकै कारण गत निर्वाचनमा लज्जास्पद हार बेहोरेको कांग्रेस आउँदो निर्वाचनसम्म आन्तरिक एकताका साथ अघि बढ्ने आशा र भरोसा झन कमजोर हुदै गएको छ। यो विवाद समाधान गर्न आवश्यक छ ।