पुष्पराज खतिवडा
मनहर्वा,जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ पिलुवास्थित शान्ति बाटिकामा शनिबार वृक्षारोपण गरेर विश्व वातावरण दिवस मनाइएको छ । ब्रम्हाकुमारी राजयोग उपसेवा केन्द्र पिलुवाले बाटिका परिषरमा वृक्षारोपण कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा वृक्षरोपण सहित वातावरण संरक्षणको विषयमा चर्चा समेत गरियो । डुमरवाना बहुमुखी क्याम्पसका प्रमुख राधेश्याम शिवाकोटी लगायत स्थानीय बुद्धिजीवी, शिक्षक, सामाजिक अगुवा, पत्रकार तथा छात्रछात्रा सहित एकजर्दन भन्दा बढी कार्यक्रममा सहभागी रहेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथिसमेत रहनुभएका क्याम्पस प्रमुख शिवाकोटीले स्वच्छ वातावरण निर्माण र संरक्षणमा सबै मिलेर लाग्नु पर्ने बताउनुभयो । हरियाली वनजंगल बचाउन सके दिवस मनाउनुको सार्थकता हुने उहाँको भनाइ थियो । ‘प्राकृतिक सौन्दर्य, वनजंगल, हिमाल, पहाड र पानीको श्रोतनै स्वच्छ वातावरणका रुप हुन्, उहाँले भन्नुभयो, यसको रक्षा गर्नु नै वातवरण संरक्षण हो ।’ उहाँले वातारणमा असर गर्ने, मानव स्वास्थ्यमा प्रभाव पार्ने गतिविधि गर्ने छुट कसैलाई पनि नभएको पनि बताउनुभयो । यस्तै स्थानीय छात्राहरु स्नेहा र सुस्मीता शिवाकोटीले विश्व वातावरण दिवसका सन्दर्भमा रचना गरेको निवन्ध बाचन गरेका थिए ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ की वडा सदस्य एवं कार्यपालिका न्यायिक समिति सदस्य तुलसा मैनाली, पुर्व शिक्षक अनिल मैनाली, पत्रकार महासंघ प्रदेश परिषद सदस्य पुष्पराज खतिवडा, स्थानीय सामाजिक अगुवा सिताराम रिमाल, माधवप्रसाद मैनाली, गंगाप्रसाद दंगाल, श्यामसुन्दर उप्रेती, धर्मराज चौधरी लगायतको कार्यक्रममा सहभागिता थियो । कार्यक्रममा सहभागीहरुले बेल, गोलमोहर लगायत विभिन्न प्रजातिका फलफुलका बोटबिरुवा रोपेका थिए । समाजिक दुरी, स्वस्थ्य सुरक्षा मापदण्ड अवलम्बन गरेर आयोजना गरिएको सो कार्यक्रमको अध्यक्षता राजयोगिनी वहन पार्वतीले गर्नुभएको थियो भने शान्ति बाटिका संरक्षक राजयोगी ब्रम्हकुमारण गुणराज लामिछानेको वाटिका निर्माणको अवस्था बारेमा प्रकाश पार्नुभएको थियो ।
करिब एक दशकअघि ब्रम्हकुमारी राजयोग उपसेवा केन्द्रको अगुवाइ र संरक्षणमा निर्माण थालिएको पिलुवा आदर्शनगरस्थित शान्तिबाटिका (पिस पार्क) मा विभिन्न प्रजातिको रुख र फलफुलका बिरुवा हुर्काएका छन । बाटिकामा बाह्ैैमहिना हरियो रहने निम, जामुन, लाली, अर्जुन, अशोक, धुपी, कल्की, बज्रदन्ती, मलेशियन साल, चाईनीज रोज लगायतका ४० भन्दा बढि प्रजातिका सयौं बोटविरुवा हुर्किएका छन् ।
त्यसैगरी शान्त, मनोरम दृश्य अवलोकन गर्नेहरुको लागि पार्कभित्र बस्ने आकर्षक ब्रेन्चहरु निर्माण गरिएका छन्भने बिरुवाको सिचायी सुविधाकोलागि पानी पोखरी पनि निर्माण भइरहेको छ । त्यसैगरी बाटिकामा आर्कषक मुर्तीकला, राष्ट्रिय झण्डा फहराइरहेको पनि देख्ने सकिन्छ ।
बाटिकामा विभिन्न कार्यक्रम तथा भेला आयोजना गर्न मिल्ने सेमिनार हल समेत निर्माण भइरहेको छ । पछिल्लो समय यो क्षेत्र आन्तरिक पर्यटकहरुकोलागि आकर्षक स्थलको रुपमा विकास हुदै गएको छ ।
वीरगन्जमा रुखलाई अंगालो
वीरगन्जमा रुखलाई अंगालो मारेर विश्व वातावरण दिवस मनाइएको छ ।
प्रकृति सेवा प्रतिष्ठान नेपालले ‘अक्सिजन दिने रुखलाई माया गरौं’ भन्ने सन्देश दिन रुखलाई अंगालो मारेर दिवस मनाएको हो ।
अक्सिजन दिने विरुवालाई मानवले माया गर्नुपर्छ भन्ने सन्देश दिनका लागि रुखलाई अंगालो मारिएको प्रतिष्ठानका संस्थापक सरदार जसपाल सिंहले बताउनुभयो । ‘रुख विरुवा अति प्रिय छ, यो बिना हामी बाँच्न सक्दैनौं, यसको रक्षा, सुरक्षा गरौं, जगेर्ना गरौं, माया गरौं भन्ने सन्देश दिनका लागि अंगालो मारेका हौं,’ उहाँले भन्नुभयो, ‘रुख विरुवा रोपौं, यसलाई नमासौं । सबैलाई मेरो आग्रह छ ।’
प्रकृतिको विनाशकै कारण कोरोना भाइरसको संक्रमण जस्तो महामारी झेल्नुपरेको उहाँको भनाइ छ । प्रतिष्ठानले वीरगन्ज महानगरपालिका परिसर र मानव सेवा आश्रम वीरगन्ज शाखामा आँप, अमला लगायत विभिन्न फलफूलको विरुवा पनि रोपेको छ ।
ग्रिन सिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरले पनि वातावरण दिवसको अवसरमा वृक्षारोपण गरेको छ । निम, आँप, अशोक, जामुन लगायतका ८० वटा विरुवा रोपिएको सामुदायिक केन्द्रले जनाएको छ । २० औं चरणमा ऋद्धिसिद्धिको गल्लीदेखि ठाकुरराम बहुमुखी क्याम्पस चोकसम्म वृक्षारोपण गरिएको केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले जानकारी दिनुभयो ।
त्यस्तै सशस्त्र प्रहरीले पनि वातावरण दिवसको अवसरमा वीरगन्जका विभिन्न स्थानमा वृक्षारोपण गरेको छ । दिवसको अवसरमा नारायणी अस्पतालमा फलफूल वितरण गर्नुको साथै मानव सेवा आश्रम वीरगन्ज शाखामा एक छाक खाना खुवाइएको सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्काले जानकारी दिनुभयो ।