वीरगञ्ज,पर्सा जिल्लाको ग्रामीण क्षेत्रमा डेङ्गी संक्रमण तीव्र रूपमा फैलिरहेको छ । विशेषगरी पोखरिया नगरपालिका र आसपासका क्षेत्रमा विगत केही दिनदेखि डेङ्गीका बिरामीको संख्या बढ्न थालेको छ ।पोखरिया जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. अनिल यादवका अनुसार अस्पतालमा दैनिक एकरदुई जना बिरामीमा डेङ्गीको संक्रमण पुष्टि हुँदै आएको छ । डा. यादवले अस्पतालमा दैनिक करिब २०० बिरामीहरूको चेकजाँच भइरहेको जानकारी दिनुभएको छ । जसमध्ये एकाध बिरामीमा डेङ्गीको लक्षण फेला परेको छ । रगत परीक्षण गर्दा डेङ्गी संक्रमण देखिएका बिरामीहरूलाई तत्काल आवश्यक उपचार गराइरहेको अस्पतालले जनाएको छ ।

हालसम्मको तथ्यांकअनुसार एक हप्ताको अवधिमा पोखरिया अस्पतालमा पाँचजना बिरामीमा डेङ्गीको संक्रमण पुष्टि भएको छ । ज्वरोका बिरामीहरूको चेकजाँच गर्दा डेङ्गीका केसहरू थप देखिने सम्भावना रहेको अस्पताल प्रशासनले जनाएको छ । ग्रामीण क्षेत्रमा डेङ्गी फैलनु स्वास्थ्यको गम्भीर चुनौति बनेको सुरपरिटेन्ट यादवले जानकारी दिनुभयो ।

















