निजगढ,बाराको निजगढमा नेशनल मेडिकल स्टुडेन्ट एशोसियनस काठमाण्डौ विश्वविद्यालयले १ सय ५० परिवारलाई मास्क तथा स्यानिटाइजर वितरण गरेको छ । विश्वभरी फैलिएको कोरोना भाइरसको संक्रमणबाट सुरक्षित रहनका लागि उपयोगी मानिएको मास्क र स्यानीटाइजर वितरण गर्नुका साथै उपयोग गर्ने तरिका र कोरोना भाइरसबारे सचेतना फैलाएको निजगढका स्थानीय सक्रिय युवा एवम् संस्थाका अध्यक्ष प्रभाकर तिमिल्सिनाले बताउनुभयो । फिजियोका पूर्व विद्यार्थीहरुको सहयोगबाट निःशूल्क रुपमा मास्क र स्यानिटाइजर वितरण गरिएको हो । निजगढमा महामारीको समयमा समाजसेवा भन्दा पनि राजनीतिक खिचातानीका कारण जनता पिडित भएका छन् । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि स्थानीय जनप्रतिनिधिहरु र राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधिहरुले सन्तोषजनक काम नगरेको निजगढका नागरिकको गुनासो छ । स्थानीय सरकार, स्थानीय प्रशासनका साथै अन्य राजनीतिक दलहरुले पनि कुनै पहल कदमी नचालेपछि युवाहरु आफै जागरुक भएर मास्क, स्यानीटाइजर वितरणका साथै सचेतना फैलाउने अभियान थालेको स्थानीय युवा सुरेश तामाङ्गले बताउनुभयो ।