काठमाण्डौं,नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफूले नयाँ पुस्ताबाट धेरै कुरा सिकेको बताउनुभएको छ ।
आइतबार काठमाडौंमा आयोजित युवासँग जनप्रतिनिधि युवा विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले वास्तविक युवासँग अन्तरक्रिया गर्दा धेरै नयाँ कुरा सिकिने बताउनुभयो । उहाँले राजनीति परिवर्तनसँग जोडिने बताउनुभयो ।
परिवर्तनको कुरा जहिले पनि आशासँग जोडिएको बताउँदै उहाँले आज नेपाली समाजले आशा गुमाउँदै गएको धारणा राख्नुभयो । हिजो सशस्त्र द्वन्द्व बेलामा पनि नागरिकमा एक खालको आशा भएको बताउँदै उहाँले अहिले त्यो कुरा पनि मरेको बताउनुभयो ।
विगतमा यहीभित्र केही हुन्छ भन्ने आशा भएको भए पनि अहिले युवामा यहीँ हुनसक्छ, गर्न सकिन्छ भन्ने कुरामा ह्रास आएको उहाँको धारणा छ ।नेपालको अहिलेको सबैभन्दा ठुलो मुद्दा रोजगारी भएको बताउँदै उहाँले हरेक वर्ष ५ लाखलाई रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपालको राजनीतिप्रति वितृष्णा पैदा भएको बताउँदै उहाँले राजनीति फोहोर जमेको पोखरी जस्तो भएको बताउनुभयो । आफू युवा हुँदादेखि अहिले ५० वर्ष हुन लाग्दा समेत उही पुरानै नेताहरू देशका सबैभन्दा ठूला नेता भएका कारण त्यो फोहोर सफा गर्न नसकेको उहाँको धारणा छ । अहिले नेपालको राजनीति डेलिभरी गर्न नसक्ने ठाउँमा गएर अड्केको उहाँको भनाई छ ।
नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवा, नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजको दिनबाट नेपाली राजनीतिबाट हामी सन्यास लिन्छौँ भनेर भन्नुभयो भने म सबैभन्दा खुसी मान्छे हुन्थेँ, अवमूल्यन गरेर भनेको होइन, एकदमै ठुलो सम्मान छ उहाँहरूप्रति, उहाँहरूले नेपालमा ठुलो योगदान गर्नुभएको छ, उहाँले भन्नुभयो ।पार्टीमाथि नियन्त्रण गर्ने र पार्टीमार्फत नेपालको राजनीतिमाथिको नियन्त्रण गर्ने प्रवृत्ति बद्लनुपर्ने उहाँको भनाई छ ।


















