कृष्ण मोहन साह
सेढवा,निर्मलठोरी मध्यवर्ती उपभोक्ता समिति अन्तरगत रहेका सामुदायिक वनका हेरालुहरुको जीवन बिमा गरिएको छ । तराई भूपरिधि कार्यक्रम (ताल) को सहयोगमा निर्मलठोरी मध्यवर्ती उपभोक्ता समितिले वन हेरालुहरुको ५ लाखको जीवन बिमा गरिएको हो ।
सामुदायिक वनको संरक्षण र हेरचाह गर्दा आइपर्ने सम्भावित जोखिम तथा कोरोना संक्रमणको अवस्थालाई ध्यान दिएर वन हेरालुको कोभिड तथा जीवन बिमा गरिएको निर्मलठोरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष बालकुमार बस्नेतले जानकारी दिनुभयो । चितवन राष्ट्रिय निकुन्ज अन्तरगत पर्ने पर्साको एकमात्र मध्यवर्ती उपभोक्ता समिति रहेको निर्मलठोरी मातहत ७ ओटा वन समुहहरु रहेका छन ्। प्रत्येक वन समुहको हेरचाह र संरक्षणमा खटिएका ७ जनाको जीवन बिमा गरिएको अध्यक्ष बस्नेतले बताउनुभयो ।
यस्तै शनिबार नै निर्मल ठोरीमध्यवर्ती उपभोक्ता समिति मातहतका ७ ओटै सामुदायिक वनका हेरालुहरुलाई स्वास्थ्य र व्यक्तिगत सुरक्षा सामग्री वितरण गरिएको छ । सो मध्यवर्ती उपभोक्ता समितिको कार्यालय ठोरी २ मा आयोजित एक कार्यक्रमबीच वन हेरालुहरुलाई प्राथमिक उपचार सामग्री, ट्र्याकसुट, झोला, जुत्ता र खाजा भत्ता वितरण गरिएको हो । सो अवसरमा अध्यक्ष बस्नेतसंगै सरस्वती सामुदायिक वन समुहका अध्यक्ष कमल बिक्रम तिमिल्सिना, वनशक्ति सामुदायिक वन समुहका अध्यक्ष बिष्णु बिष्ट, ओडार सामुदायिक वन समुहका अध्यक्ष तारा लामा, सिकारीबास सामुदायिक वन समुहका अध्यक्ष सुर्य थिङलगायतको उपस्थिति थियो ।