कृष्ण मोहन साह

सेढवा  – पर्साको ठोरी गाउँपालिकामा कोरोना भाइरस नियन्त्रणका लागी सरकारले गरेको लकडाउनका कारण बन्द रहेको हुलाकी सडक निर्माणकार्य सुचारु भएको छ । सडक निर्माणको सम्झौता अवधिको अन्त्यतिर सरकारले लकडाउन गरेपछि सडक निर्माणको काम अलपत्र परेको थियो । ठोरीको चमरीहोलदेखि चौतारासम्म पर्ने ३० किलोमीटर सडक निर्माणको ठेक्का सकारेको कालिका बानियाँ जेभीले ठोरीकै स्थानीय मजदुरहरुमार्फत काम अघि बढाएको बानियाँ निर्माण सेवाका प्रतिनिधि उद्दव न्यौपानेले जानकारी दिए ।

 

 

उनले भौतिक योजना तथा पुर्वाधार निर्माण मन्त्रालय ,गृह मन्त्रालय ,जिल्ला प्रशासन कार्यालय पर्सा एवम् ठोरी गाउँपालिका कार्यालय सबैबाट अनुमति लिएर सडक निर्माण कार्य थालिएको बताए । उनले ३० किलोमीटर सडक खण्डअन्तरगत हाल ५ ठाउँमा एकैसाथ काम भैरहेको जानकारी दिदै इन्जिनियर ,ड्राइभर ,प्राविधिक बाहेक सबै स्थानीय मजदुरहरुले नै सडकमा काम गरिरहेको जानकारी दिए । हाल ठोरीमा वडा ४ को आठघरेमा कल्भर्ट ढलान,वडा ३ को बुद्धनगरमा नाला निर्माण, रामनगरमा सववेस मिलाउने तथा साबिक ठोरी गाविसको २ ठाउँमा ग्राभेल विछ्याउने काम भैरहेको ठेकेदार कम्पनीका प्रतिनिधि न्यौपानेले जानकारी दिए ।

 

 

 

 

कोरोना महामारीको अवस्थाका कारण एक ठाउँमा १५ जना भन्दा धेरै कामदार नराखिएको र बाहिरबाट आएका सबै प्राविधिक श्रमिकहरुको स्वास्थ्य परीक्षण समेत गरिएको ठेकेदार कम्पनीको भनाइ छ । “सम्झौताको २९ महिनामा करीब ७० प्रतिशत काम” बिरगंज ठोरी हुलाकी सडक खण्ड अन्तरगत चमरीहोलदेखि चौतारासम्म ३० महिनामा सडक निर्माण सम्पन्न गर्ने शर्तमा ठेक्का सकारेको कालिका बानियाँ जेभीले सम्झौता सकिन करीब १ महिना बाँकी हुँदा ७० प्रतिशत मात्र काम सकेको छ । करीब रु १ अर्व ६ करोडको लागतमा निर्माण गर्ने गरी ३० किलोमिटरको सडक खण्ड २०७४ मंसिर १ मा सम्झौता भएकोमा ०७७ जेठ २० सम्म निर्माण सम्पन्न गर्नुपर्ने छ ।

 

 

 

हुलाकी सडक आयोजनासँगकाे सम्झौता अवधी सकिनै लाग्दा सडक निर्माणको काम भने ३० प्रतिशत अधुरो रहेको ठेकेदार कम्पनीले जनाएको छ । लकडाउन हुनुअघि करीब ६८ प्रतिशत प्रगति भएको र लकडाउनअवधिमा करीब २ प्रतिशत निर्माण कार्यमा प्रगति भएको हो । सम्झौता अवधिको २९ महिना बित्नै लाग्दा मालिवस्तीबाहेक चमरीहोलदेखि विजयवस्ती पेट्रोलपम्पसम्म कालोपत्रे गरिएको छ । साबिकको सुवर्णपुर र निर्मलबस्ती गाविस अन्तरगतको करीब २२ किलोमीटर सडकखण्डमा निर्माणकार्य द्रुतगतिमा गरेको भएपनि साबिक ठोरी गाविसको करीब ८ किलोमीटर सडकखण्डमा भने निर्माण सुस्त छ ।

 

 

३० किलोमीटर सडकखण्डमा कुल ५१ ओटा कल्भर्ट रहने भएपनि हालसम्म ३६ ओटा कल्भर्ट निर्माण सम्पन्न भएर सन्चालनमा आएको तथा ४ ओटा कल्भर्ट निर्माणको अन्तिम चरणमा रहेको ठेकेदार कम्पनीका फिल्ड इन्चार्ज न्यौपानेले बताए । उनले ११ ओटा कल्भर्ट निर्माणमा स्थानीयले विरोध गरेका कारण काम नै सुरु गर्न नसकिएको बताए । उनले विवाद समाधान नभएसम्म कल्भर्ट निर्माण गर्न अप्ठ्यारो रहेको जानकारी दिए । हरेक वर्ष फागुनदेखि जेठ महिना सडक निर्माणको पिक आवर हुने र यही अवधिमा निर्माण प्रगति उल्लेख्य हुने जानकारी दिदै इन्चार्ज न्यौपानेले लकडाउनका कारण सडक निर्माणको प्रगति प्रभावित बनेको बताए । उनले कुनै किसिमको अवरोध नभए आगामी ९ महिनाभित्र सडक निर्माण सम्पन्न भैसक्ने दाबीसमेत गरे ।