वीरगन्ज,कोरोना भाइरसको महामारीका कारण किसानहरुलाई मल पाउन कठिनाई भइरहेको छ । कृषि सामाग्री कम्पनी लिमिटेडका गोदामहरुमा यथेष्ट मात्रामा मल भण्डारण भएपनि ढुवानीमा समस्या सृजना हुँदा किसान त्यसको प्रत्यक्ष मारमा परेका हुन् । कृषि सामाग्री कम्पनी लिमिटेड कार्यालय वीरगन्जसहित मातहतका ४० कार्यालय र त्याँहाबाट मल बिक्री गर्ने स्वीकृति लिएका ४ हजार ७ सय कृषि सहकारीमा मल ढुवानी हुन नसक्दा किसानको पहुँचमा मल पुग्न नसकेको हो । बारा, पर्सासहित तराईमा धानको ब्याड लगाउन युरिया र डिएपीको आवश्यक्ता खट्किएको छ भने पहाडी क्षेत्रमा मकै गोडमेल गर्न युरियाको ठूलो माग छ । कृषि सामग्रीको ठूलो गोदामबाट तराईका कार्यालयमा मल पुगे पनि पहाडी जिल्लामा मल पु–याउन समस्या देखिएको कम्पनीका प्रवक्ता विष्णुप्रसाद पोखरेलले बताउनुभयो । गत वर्ष किसानहरूले धान लगाउने वेला युरियाको चर्को अभाव खेपेका थिए । यसपटक भने युरिया, डिएपी र पोटासको आयात र मौज्दात परिमाण मागअनुसार धान्ने गरी व्यवस्था मिलाएको प्रवक्ता पोखरेलले बताउनुभयो । कम्पनीका अनुसार अहिले देशभरका गोदाममा १८ हजार मेट्रिकटन युरिया, ४४ हजार ६ सय मेट्रिकटन डिएपी र ४ हजार ४ सय मेट्रिकटन पोटास मौज्दात छ । ग्लोबल टेन्डरमार्फत चीनबाट आयात भएको ३० हजार टनमध्ये १२ हजार टन युरिया भारतको कोलकाता बन्दरगाहबाट आउने क्रममा छ । त्यहाँबाट प्रत्येक २–३ दिनमा दुई ¥याक (५ हजार टन) युरिया रेलमार्फत नेपाल भित्रिरहेको छ