रौतहट,गौर राइस मिलको जग्गा भू–माफियाबाट बचाउन र दोषिलाई कारबाही गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाइएको छ।नेकपा एमालेका केन्द्रीय सदस्य तथा रौतहट जिल्ला इन्चार्ज अजयकुमार गुप्ताले बुधवार साँझ बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई ज्ञापन पत्र बुझाउनुभएको हो ।
गौर नगरपालिकाका पूर्वमेयर समेत रहनुभएका एमाले नेता गुप्ताले प्रधानमन्त्री ओलीलाई भेटेर गौर राइस मिलको जग्गा भूमाफियाले बिक्री गर्न लागेको भन्दै तत्काल उक्त जग्गा बिक्री प्रक्रिया रोक्का गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गर्नुभएको छ ।भूमाफियाले गौर नगरपालिकाको मिलेमतोमा सार्वजनिक उपभोगमा रहेको राइस मिलको जग्गा बेचबिखनबाट जोगाउँदै सत्य तथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न गुप्ताले प्रधानामन्त्री ओलीसँग माग गर्नुभएको छ । नक्कली कागजपत्र तयार गरी ठूलो आथिर्क चलखेल गरेर जग्गा हडप्न खोज्नेउपर छानबिन गरी कारबाही गरिनुपर्ने माग ज्ञापन पत्रमा गरिएको छ।
राइस मिलको जग्गा वर्षौंदेखि सार्वजनिक रुपमा प्रयोग भई विभिन्न मेला महोत्सव, राजनीतिक सभा सम्मेलन तथा खेलकुद प्रतियोगिता र क्रिकेट खेलाडीहरूको लागि खेल मैदानको रुपमा प्रयोग हुँदै आएको छ।ज्ञापन पत्रमा भू–माफिया र गौर नगरपालिकाको मिलेमतोमा धेरै ठूलो आर्थिक चलखेल गरी सो जग्गा भागबन्डा गरेर खेलमैदानको अस्तित्व नै समाप्त हुने अवस्था देखिएको उल्लेख छ।साविक गौर गाविस वडा नम्बर ७ को कित्ता नम्बर १३९ को ०–४–१५,१४०को ०.१६–०,१६३को ४–१०–० र ८०३को ०.९.० जग्गा गौरको मुटु, मान सम्मान, रौतहटबासीको धरोहर, युवा खेलाडीको भविष्य भएकाले त्यसको संरक्षणको लागि तत्काल कदम चाल्नुपर्ने गुप्ताद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा उल्लेख गरिएको छ।
गौर नगरपालिकका मेयर शम्भु साहले उक्त जग्गा बिक्री गर्ने सहमति अनुसार कार्यपालिकाले गरेको निर्णय मंगलबार साँझ सार्वजनिक भएसँगै चौतर्फी बिरोध हुदैआएको छ।
गौर राइस मिलको जग्गा बचाउ अभियन्ताहरूले गौरमा ३ दिनदेखि लगातार प्रदर्शन गर्दैआएका छन । उनीहरूले नगरपालिकामा निर्णय फिर्ता लिन मेयर साहलाई २४ घन्टे अल्टिमेटमसमेत दिएका छन्।मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले उक्त जग्गाको बारेमा विस्तृत छानबिन गर्न प्रदेशका महान्यायाधीवक्ता सुरेन्द्र महतोलाई निर्देशन पनि दिनुभएको छ ।


















