पुष्पराज खतिवडा

मनहर्वा,मुस्लीम फण्डको नामबाट बारा जिल्लाका विभिन्न स्थानहरुमा गाडिएका हजारौं धाराको पानी पिउन अयोग्य भएको पाइएको छ । फण्डले १५ देखि बढीमा २५ फिटसम्म मात्रै पाइप गाडेर धारा जडान गरेकोले पानी पिउन अयोग्य भएको हो । ५० फिट भन्दा कम गाडिएका धाराको पानी सेवन गर्न नहुने खानेपानी विज्ञहरु बताउँछन् ।

मुस्लीम फण्डका नाममा जिल्लाका गाउँघरमा सोझासिधा परिवारसँग २ हजारदेखि ४ हजारसम्म पैसा असुलेर धारा गाड्ने काम कस्ले र किन गरिरहेको छ । सोको जानकारी भने कुनै स्थानीय तहका सरकारसँग पनि छैन । कलैया उपमहानगरपालिका २४ श्रीपुरका धेरैजसो घरको अगाडि र तरकारीबारीका गरैपिच्छे पानीका धारा गाडिएका छन् । धारामा अरवी अक्षरले लेखिएको छ ।

खानेपानी सुविधाकोलागि भन्दै निःशुल्क भनिए पनि २ हजार ५ रुपैंया तिरेर गाडेको धाराको पानी खानयोग्य नभएको स्थानीय रामजित रामले बताउनुभयो ।

कलैया उमहानगरपालिकाको वडा नंं. २४ को श्रीपुरस्थित दलित बस्तीमा पाँचवटा घरहरु भएको टोलमा १२ वटासम्म धारा गाडिएका छन् । कम गाडिएका कारण केही धाराबाट पानी आउनै छाडेको छ । पानी आउने कतिपयमा धाराको पानी भने स्थानीयले सेवन गर्दै आएका छन् । तर पनि पानी भने स्वच्छ नभएको रामजितले बताउनुभयो ।

फण्डले जडान गरेको धारामा राम्रो र सजिलै पानी नआउने गरेकोे अर्की स्थानीय सुगान्धी देवीले सुनाउनुभयो । ‘धारा गाड्ने मिस्त्रीहरुको समुहले एकदिनमा सातवटासम्म धारा गाडेर गए, उहाँले भन्नुभयो, १५ देखि मुस्किलले ३० फिट सम्म धारा गाडेका छन, अली बढी गाडनु भन्दा मानेन्, पानी त आयो तर राम्रो छैन उहाँले भन्नुभयो । हामीलाई यतिमात्रै गाड्न भनिएको छ भन्दै मिस्त्रीहरु पन्छिएको उहाँले बताउनुभयो । त्यसै कारण अहिले गाउँका धेरै धारा प्रयोग विहिन बनेका छन् । धारा गाड्दा नगद ४ हजार खर्च भएको उहाँले सुनाउनुभयो ।

कलैया उपमहानगरपालिका वडा नंं.२४ कै सखुई, मनहर्वा, वडा नं.१६ को उत्तरझिट्कैंया, मझौलिया, विद्यानगर लगायतका स्थानमा मुस्लीम फण्डका धारा गाडिएको श्रीपुरकै रामप्रसाद रामले बताउनुभयो । धाराका लागि नाम टिप्न अर्कै ठाउँका मान्छे आएकाले उनीहरुलाई आफुहरुले नचिन्ने उहाँले बताउनुभयो ।

यता मुस्लीम फण्डबाट भन्दै धमाधम गाउँमा धारा गाडिए पनि स्थानीय सरकार भने बेखबर रहेको छ । धारा गाडने कार्यमा आफुहरुसँग कुनै किसिमको समन्वय नै नभएको कलैया उपमहानगरपालिका २४ का अध्यक्ष हरिलाल चौधरीले बताउनुभयो । धारा गाडिनु राम्रो भएपनि ती धाराको पानी पिउन योग्य नहुनु चाही नराम्रो भएको उहाँको भनाइ छ । जीतपुरसिमरा उपमहानगरपालिका १८ पराँसटोलाका खैरा भन्ने मुस्लीम अगुवाले धारा गाड्ने कामको संयोजन गरिरहेको उहाँले बताउनुभयो ।

खाने पानीको क्षेत्रमा लामो समय काम गरेका नेपाल रेडक्रस समाज बाराका प्रमुख उदय नेपाल ५० फिट भन्दा कम गहिराइमा गाडिएका धाराको पानी खानै नहुने बताउनुहुन्छ । उहाँका अनुसार यस्तो पानी सेवन गर्दा मानिसमा बिरामी हुने संभावना अधिक हुन्छ । कम गहिराइको पानीमा झाडापखालाका ब्याक्टेरीयाका साथै शरीरमा विभिन्न रोग निम्त्याउने आर्सेनिक लगायतका हानिकारक रसायनको मात्र अधिक पाईने उहाँको भनाइ छ । ५० मिटर भन्दा माथिको पानी खानु पर्ने बाध्यता भए उमालेर वा फिल्टरको माध्यमबाट सुध्दीकरण गरेर मात्रै पिउनु पर्ने उहाँको सल्लाह छ ।

जिल्लाको कलैया उपमहानगरपालिका, जीतपुरसिमरा उमहानगरपालिका, महागढिमाई नगरपालिका, फेटा, सुवर्ण ,प्रसौनी गाउँपालिका लगायत अधिकासं पालिकाहरुमा मुस्लीम फण्डका नाममा धाराहरु गडिएको बताइएको छ । जिल्लामा विगत ३,४ वर्ष अघिबाट सुरु भएको यो श्रृङखला अहिलेसम्म पनि जारी नै छ । यसका विषयमा कसैले चासो नदेखाएको रेडक्रस प्रमुख नेपालले बताउनुभयो । ‘जिल्लामा ५ हजार बढीको संख्यामा यस्ता धारा गाडिएको अनुमान गरेका छौं ।’ उहाँले भन्नुभयो ।

बाराका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले मुस्लीम फण्डका नाममा कमसल खाने पानी धारा गाडिएको विषय जानकारीमा आएको बताउनुभयो । सरकारका नियमनकारी निकायहरुसँग कुनै किसिमको समन्वय नगरिकन कसले किन र कसरी काम गरेको हो भन्ने बारेमा अनुसन्धान गरिने उहाँले बताउनुभयो ।

Leave a Reply