कलैया – बाराको कलैया बजारमा गरिएको संयुक्त छड्के अनुगमनका क्रममा अखाद्य बस्तु बिक्री गर्ने दुई व्यवसायीलाई १५ हजार रुपैयाँ जरिवाना गरिएको छ ।
आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जका कार्यालय प्रमुख सुनिल चौरसियाको नेतृत्वमा मंगलबार गरिएको चाडपर्वलाई लक्षित अनुगमनको क्रममा माँ अन्नपूर्ण स्वीट्सलाई १० हजार र विकास जेनरल स्टोर्सलाई ५ हजार रुपैयाँ गरी १५ हजार रुपैयाँ जरिवाना गरिएको हो ।
अनुगमनका क्रममा विकास जेनरल स्टोर्समा म्याद गुज्रिएको पशुपति टी किङ चियापत्ती र कुरकुरे पास्ता फेला परेपछि उक्त सामग्री जफत गरी नष्ट गरिएको छ ।
त्यस्तै माँ अन्नपूर्ण स्वीट्समा मिठाई बनाउन प्रयोग गरिने काक्राको बियाँ, केवरा वाटरको म्याद गुज्रिएको गुलाबजल फेला परेको थियो ।
उपभोक्ता संरक्षण ऐनको दफा ३८ को खण्ड (घ) र दफा ३९ को खण्ड (क) बमोजिम दुवै पसललाई जरिवाना गरिएको आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगन्जका कार्यालय प्रमुख सुनिल चौरसियाले जानकारी दिनुभएको छ ।
यसअघि पनि अनुगमन टोलीले बजार अनुगमनका क्रममा माँ अन्नपूर्ण स्वीट्सलाई ५० हजार रुपैयाँ जरिवाना गरेको थियो ।
त्यसैगरी कलैयाकै जय महारानी किराना भण्डारमा १०० ग्रामको एक प्याकेट म्याद गुज्रिएको मसला फेला परेको अनुगमन टोलीले जनाएको छ । अनुगमन टोलीले न्यु दास किराना पसल, सिद्धु सिद्धार्थ स्वीट्स, न्यु दास सप्लायर्स, राजेश किराना, कलैया बिरयानी हाउस, लक्ष्मी स्वीट्स र मा तारा स्वीट्सलगायत १० वटा पसलमा समेत अनुगमन गरिएको थियो ।
अनुगमन टोलीमा वाणिज्य कार्यालयका आशुतोष कुशवाहा र मधुरेशप्रसाद साह, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय वीरगञ्जका खाद्य निरीक्षक सुरेशकुमार सिंह, जिल्ला प्रशासन कार्यालय बाराका नायब सुब्बा अरुण साह, अस्थायी प्रहरी पोस्ट कलैयाका प्रमुख प्रहरी नायब निरीक्षक बिमलेश यादव तथा जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी सहायक निरीक्षक उमाशंकर रामसहित सहभागी थिए ।
अनुगमनका क्रममा टोलीले व्यवसायीलाई म्याद गुज्रिएका खाद्य सामग्री खरिदबिक्री नगर्न, त्यस्ता सामग्री बिक्रीयोग्य वस्तुबाट छुट्टयाएर अलग्गै राख्न, सामान खरिद गर्दा लेबल र म्याद जाँच गर्न तथा पसलमा सरसफाइ कायम राख्न निर्देशन दिएको छ ।
















