पुष्पराज खतिवडा,नरेश गुप्ता
सिमरा, बरियारपुर,बाराको पथलैयामा रहेको एक ग्यारेजमा पार्किङ गरि राखिएको इन्धन बोक्ने ट्याङकरबाट प्रहरीले बुधबार दिउसो ठुलो परिमाणमा लागु औषध गाँजा बरामद गरेको छ ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ पथलैयास्थित महमद आलम साहको रामरहिम ग्यारेजमा राखिएको ना ४ ख २९७९ नम्बरको खाली ट्यांङकरबाट १९ वटा पोकामा रहेको २ क्वीन्टल १८ किलो गाँजा प्रहरीले बरामद गरेको हो । गाँजा सहित ट्याङकरका चालक महोत्तरीको बर्दिवास नगरपालिका ८ का ३३ वर्षिय घनश्याम गिरी र सहचालक चितवनको खैरहनी नगरपालिका २ का राजकुमार दवाडिलाइ पनि प्रहरीले पक्राउ गरेको छ ।
भारतको बरौनीमा इन्धन लिन जानका लागि काठमाण्डौबाट आउदै गरेको ट्याङकर पथलैयास्थित ग्यारेजमा रोकेर राखिएको अवस्थामा प्रहरीले उक्त टयाङकरबाट २ क्वीन्टल १८ केजी गाँजा सहित चालक गिरी र सहचालक दवाडीलाइ पक्राउ गरेको हो । गाजा बरामद भएको ट्याङकर सहित चालक र सहचालकलाई जिल्ला प्रहरी कार्यालय बाराको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको बाराका प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।