सिम्रौनगढ,जनता समाजवादी पार्टी जसपा केन्द्रिय सदस्य जितेन्द्र सिंहको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ । बाराको पचरौता नगरपालिका १ पिपरपाती घर भएका ५५ वर्षिय सिंहको काठमाण्डौको मेडिसिटी अस्पतालमा उपचारका क्रममा मंगलबार बिहान मृत्यु भएको हो । एक साता पहिले कोरोना संक्रमण पुष्टि भएपछि सिंहले होमआइशोलेसनमा रहेर औषधी सेवन गरिरहेकोमा स्वास्थ्य अवस्था जटिल भएपछि उहाँलाई गत शनिवार वीरगन्जस्थित अलि अर्थो एण्ड ट्रामा सेन्टरमा भर्ना गरिएको थियो । अवस्था झन बिग्रिदै गएपछि सोमबार साँझ सिंहलाई वीरगन्जबाट हेलिकोप्टरमा राखेर काठमाण्डौको मेडिसिटी अस्पतालमा लगिएको थियो । त्यहि उपचारका क्रममा मंगलबार बिहान मृत्यु भएको उहाँका भतिजा विनय सिंहले जानकारी दिनुभयो । वीरगन्जमा सिंहको उपचार गरेका डाक्टर नीरज सिंहका अनुसार एक सातापहिले संक्रमण पुष्टि भएका सिंहमा त्यसबेला ज्वरो मात्रै देखिएकाले उहाँले घरकै होम रहेर औषधी सेवन गर्नु भएको थियो । तर दुइ दिनपछि स्वास्थ्य अवस्था जटिल भएपछि आफन्तले गत शनिवार अलि अर्थो एण्ड ट्रामा सेन्टरमा लगेर भर्ना गरेका थिए । अलि अर्थो एण्ड ट्रामा सेन्टरमा उपचारकै क्रममा अचानक उहाँको आँखा सुन्निनुका साथै नाकबाट रगत बग्न थालेपछि सोमबार साँझ हेलकप्टरबाट काठमाण्डौ पठाइएको थियो ।

Leave a Reply