पुष्पराज खतिवडा
मनहर्वा,मानमत कलैया सडकखण्डमा गुड्ने सवारीको लापरवाहीका कारण ठाउँठाउँमा सडक भत्किन थालेको छ । निर्माण सम्पन्न भएको ३ वर्ष नपुग्दै सडक ठाउँठाउँमा भत्किन थालेको हो । यस क्षेत्रमा संचालित एक दर्जन क्रसर र बालुवा प्रशोधन उद्योगहरुबाट ढुवानीको क्रममा गरेको लापरबाहीका कारण सडकमा जोखिम बढेको स्थानीयले बताएका छन् ।
खोलाको बालुवा÷ढुङ्गाका टिपर तथा टेक्टर पानी चुहाउँदै र ढुङ्गा झार्दै सडकमा गुडने गरेकोले सडकको आयु दिनप्रतिदिन घट्दै गएको हो । सडक भत्किन थालेकाले दिनहुँजसो सडक दुर्घटना समेत हुँदै आएको छ । दुर्घटनामा परि जनधनको क्षेति भएको छ ।
सडकमा सवारी र ढुवानीका साधनको लापरबाही नियमन गर्ने निकाय ट्राफिक प्रहरी भने मुखदर्शक हुने गरेको पाइएको छ । बालुवाढुङ्गा ढुवानी गर्दा पानी चुहाएको पाइए कारबाही गर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक विपिनि ओझाले बताउनुभयो । तर प्रहरीकै अगाडि पानी चुहाउँदै र ढुँङ्गा झार्दै टिपरहरु गुडदासमेत कारबाही गर्नुको साटो नजराना लिने गरेको पाइएको छ । सडकमा पानी झार्ने सवारीलाई १ हजार ५ सयसम्म जरिवाना गर्ने नियम भएको जनाउने प्रहरीले कारबाही भने गरेको पाईदैन । यद्यपि आइतबारबाट कडाइका साथ नियमन गर्ने निरीक्षक ओझाले प्रतिवद्धता जनाउनुभयो ।
मानमत, कलैया पिलुवा सडक खण्डमा दैनिक करिव ४५ वटा टिपर गुड्ने गरेको र उनीहरुले प्रतेक दिन १० देखि १२ टिप गर्ने गरेको जीतपुरसिमरा उपमहानगरपालिका कर्मचारी नवराज आचार्यले बताउनुभयो । उहाँका अनुसार टिपरले एकपटकमा ४४० घनमिटर र टेक्टरले १०० घनमिटर ढुगा, बालुवा र गिटी ढुवानी गर्ने गर्दछन् । कोरोना महामारी र निषेधाज्ञाकाबीचमा समेत निर्वाध रुपमा बालुवाढुङ्गा निकासी भइहेको उहाँले बताउनुभयो ।