मनहर्वा,कोरोना संक्रमणबाट मर्नेमा पुरुषको संख्या अधिक रहेको पाइएको छ । पहिलो र दोस्रो लहरको कोरोना संक्रमणबाट शनिबार मध्यान्नसम्म बारा जिल्लामा मर्नेको संख्या ७७ पुगेको छ । मृतकमध्ये ६० जना पुरुष छन् भने १७ जना महिला ।

दोस्रो लहरको संक्रमणबाट शनिबारसम्मको तथ्याङ्क हेर्दा महिलाको तुलनामा मृत्यु हुने पुरुषको संख्या अधिक छ । दोस्रो लहरमा ४४ जनामा कोरोना संक्रमितको ज्यान जाँदा ३५ जना पुरुष मात्रै छन् भने महिलाको संख्या ९ छ । यस्तै पहिलो लहरको संक्रमरणबाट ज्यान गुमाउने ३३ जना थिए । जसमध्ये ७ महिलाले ज्यान गुमाउँदा पुरुषको संख्या २६ थियो ।

संक्रमित हुनेहरुमा समेत महिलाको तुलनामा पुरुषको संख्या अधिक रहेको पाईएको छ । जिल्ला जनस्वाथ्य कार्यालय बाराका प्रमुख रामनरेश यादवका अनुसारपुरुषहरुको पारिवारिक जिम्मेवारी, दौडधुप, नचाहँदा नचाहँदै पनि बाहिर निस्कनु पर्ने बाध्यताले पनि संक्रमित हुनेमा पुरुषहरु बढी भएको हुनसक्छ । यस्तै जथाभावी घराबाहिर निस्कने, मास्क नलगाउने र रोगलाई सामान्य रुपमा लिने जस्ता लापरवाहीले पनि महिलाको तुलनामा पुरुषहरुमा बढी संक्रमण भएको यादव बताउनुहुन्छ ।

दोस्रो भेरियन्टको कोरोनाको संक्रमण ९ सय ७७ जनामा पुष्टि भएको छ । संक्रमण देखिएकामा ७०८ जना पुरुष र २६९ जना महिला भएको जनस्वास्थ कार्यालय बाराले जनाएको छ ।

जिल्लामा यो समाचार तयार पार्दै गर्दा शनिबार ६२ जना संक्रमित थपिएका छन् । संक्रमित हुनेमा ५ जना प्रहरी जवान र बाँकी ९७२ जना सर्वसाधारण रहेको बारा प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी गौतम् मिश्रका अनुसार संक्रमित ११ महिला र २६ पुरुष सहित ३७ जना वीरगन्जं र काठमाण्डौंमा उपचारत छन् । ९३५ जना सर्वसाधारण भने होमआइसुलेसनमै रहेका उहाँले जानकारी दिनुभयो ।

दोस्रो भेरियन्टको संक्रमण बढेसँगै जिल्ला प्रशासन कार्यालय बाराले आवागमनमा थप कडाइ गरेको छ । स्वास्थ्य सेवासँगै दुध तरकारी, खाध्यान्न लगायतका अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको छ । बैंक तथा वित्तिय संस्थाहरुलाई निश्चित समय पालैपालो खोल्न दिइएको छ । सवारी साधन आवागमन भने जिल्लामा ठप्प पारिएको छ ।

अक्सीजन र आइसोलेसन व्यवस्थापनमा स्थानीय तह

मनहर्वा, कोरोनाको दोस्रो भेरियन्टको संक्रमण बढेसँगै स्थानीय संघसंस्था र पालिकाहरु अक्सीजन, आईसोलेसन व्यवस्थापनमा जुटेका छन् ।

जीतपुरसिमरा उपमहानगरपालिकाले सिमरामा ३५ बेडको आईसुलेसन शनिबारबाटै संचालनमा ल्याएको छ । यस्तै कलैया उपमहानगरपालिका, महागढिमाई नगरपालिका, निजगढ नगरपालिका, सिम्रौंनगढ नगरपालिका लगायत जिल्लाका १६ वटै पालिकाले २ सय बढीको संख्यामा आईशोलेशन लेसन बेड तयार गरी संचालनमा ल्याएकोे प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभयो । यस्तै उद्योग बाणिज्य संघहरु, लायन्स क्लब, युवा समाज तथा सामाजिक संघ संस्थाहरु समेत संक्रमितको उपचार र संक्रमण रोकथाम तथा व्यवस्थापनमा जुटेको उहाँले बताउनुभयो ।

त्यसैगरी प्रजिअ पौडेलका अनुसार जिल्लामा अक्सिजनको कुनै समस्या नभएको बताउनुभयएको छ । समस्यामा परेर उपचारको लागि अस्पतालमा आएका बिरामीलाई अक्सिजनको कमी हुन नदिइने उहाँले बताउनुभयो । आवश्यक मात्रामा जिल्लामा अक्सिजनको प्रवन्ध रहेको उहाँले बताउनुभयो । कालाबजारीयाहरुको अफवाहमा नपर्न पनि प्रजिअ पौडेलले सर्वसाधारणमा आग्रह गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here