नरेश गुप्ता,
बरियारपुर,निर्वाचन आयोगले जारी गरेको आचारसंहिता उल्लंघन गर्दै बाराको प्रसौनी गाउँपालिकाका अध्यक्ष भोलाप्रसाद गुप्ताले आफ्नो कार्यकक्षमा राजनीतिक दलको कार्यक्रम आयोजना गर्नुभएको छ ।
प्रसौनी गाउँपालिका अध्यक्ष गुप्ताले कार्यकक्षमा लोकतान्त्रिक समाजवादी पार्टीको भातृ संगठनको रुपमा रहेका युवा संघको गाउँपालिका कमिटी गठन गरेको कार्यक्रमको फोटो समाजिक संजालमा सार्वजनिक भएपछि अध्यक्ष गुप्ताको चारैतिर आलोचना सुरु भएको छ ।
निर्वाचन आयोगले चैत्र २५ गते राती १२ बजेपछि निर्वाचन आचारसंहिता लागू गरेपछि त्यसको उल्लंघन गर्दै गाउँपालिका अध्यक्ष गुप्ता र उपाध्यक्ष गिता साहले कार्यकक्षमा पार्टीको कार्यक्रम आयोजना गरेको फोटो शुक्रवार सार्वजनिक भएको हो ।
निर्वाचन आयोगको कार्यालयले कुनै पनि सार्वजनिक स्थान, स्थानीय तह, कार्यालय र सामाजिक संजालको एकाउन्टबाट भ्रमपूर्ण तथ्य कुनै किसिमको पोष्ट गर्न, गराउन नहुने ब्यहोरा सहितको जानकारी गराएको थियो ।
गाउँपालिकाका अध्यक्ष गुप्ताले लोकतान्त्रिक समाजवादी पार्र्टीका नेता कार्यकर्ताहरुलाई भेला गराएर स्थानीय तहको निर्वाचनलाई प्रभावित पार्ने गरी आफ्नै कार्यकक्षमा भेला गरेको भन्दै स्थानीयबासिन्दाले त्यसको आलोचना गरेका छन ।