दुष्यन्त चौधरी

कलैया, १७ चैत । थारू समुदायको सामाजिक नेतृत्व दाबी गर्दै आएको थारू कल्याणकारीणी सभा (थाकस) बारा जिल्ला कार्यसमिति यतिबेला गम्भीर विवादको केन्द्रमा परेको छ । जिल्लामा ठोस काम गर्न नसकेको आरोप खेपिरहेको नेतृत्व नै संस्थाको नाम र ब्यानर प्रयोग गर्दै “अवलोकन भ्रमण” मा निस्किएपछि संगठनभित्र र बाहिर दुबै तर्फ तीव्र असन्तुष्टि चुलिएको छ । थाकस बाराका अध्यक्ष रामप्रसाद चौधरी र कोषाध्यक्ष बासु चौधरीको नेतृत्वमा एक टोली अचानक अवलोकन भ्रमणमा निस्किएको खबर बाहिरिएपछि, उक्त भ्रमणको वैधानिकता र उद्देश्य माथि प्रश्न उठ्न थालेको हो । स्रोतका अनुसार उक्त टोलीमा जिल्ला कार्यसमितिका अधिकांश पदाधिकारी, सल्लाहकार तथा केन्द्रीय सदस्यहरूलाई बेवास्ता गरिएको छ, जसले संगठनभित्र गम्भीर असन्तुलन र अविश्वासको संकेत देखिएको जानकारी दिनुभयो ।

 

स्थानीय स्तरमा समेत यो विषयले व्यापक चर्चा पाएको छ । चोक–चोक र चिया पसलहरूमा थाकसको नाममा गरिएको भ्रमणबारे जनस्तरमा आलोचना बढ्दो क्रममा रहेको थाकसकी केन्द्रीय सदस्य श्रीदेवी चौधरीले जानकारी दिइन् । उनका अनुसार, “संस्थाले जिल्लामा कुनै ठोस उपलब्धि दिन सकेको छैन, तर नेतृत्व भने आफ्नै ढंगले भ्रमणमा व्यस्त देखिनु चिन्ताजनक विषय रहेको बताउनुभयो । ”

 

अवलोकन भ्रमण आफैंमा सकारात्मक अभ्यास भए पनि संस्थागत निर्णय , पारदर्शिता र समावेशीताको अभावमा गरिएको यस्तो गतिविधि प्रति व्यापक प्रश्न उठ्नु स्वाभाविक रहेको जिकिर गर्नुभयो । थाकसजस्तो ऐतिहासिक संस्था बिना आधिकारिक बैठक, निर्णय तथा सहमति बिना नेतृत्वको व्यक्तिगत पहलमा भ्रमणमा निस्कनु संगठनात्मक अनुशासन विपरीत भएको थाकस बाराका सदस्य अनिल चौधरीले आरोप लगाउनुभयो ।

 

यता, थाकस बाराका उपाध्यक्ष सिमिन्त्रा देवी चौधरीले भन्नुभयो , अध्यक्षले “आफ्नै खर्चमा” भ्रमण गरेको दाबी गरे पनि संस्थाको ब्यानर प्रयोग गरिएको विषयलाई भने शंकास्पद ठहर गरेकी छन् । “यदि व्यक्तिगत भ्रमण हो भने संस्थाको नाम किन प्रयोग गरियो ?” भन्ने प्रश्नले विवाद अझ चर्किएको छ ।

 

अर्का उपाध्यक्ष अनिल चौधरीले त यस घटनालाई हालै सम्पन्न करैयामाई गाउँपालिकाको माघी महोत्सवसँग जोड्दै गम्भीर आरोप लगाएका छन् । उनका अनुसार, “महोत्सव सकिएको लामो समय बितिसक्दा पनि खर्च विवरण सार्वजनिक गरिएको छैन । यस्तो अवस्थामा नेतृत्वको एकल निर्णयमा गरिएको भ्रमणले रकम दुरुपयोग लुकाउने प्रयास भएको आशंका बलियो बनाएको जानकारी दिनुभयो ।

 

यसै सन्दर्भमा थाकसका अर्का उपाध्यक्ष लक्ष्मीकान्त चौधरीले पनि संस्थाको ब्यानर दुरुपयोग र आर्थिक पारदर्शिताको अभावप्रति गम्भीर आपत्ति जनाउँदै आगामी बैठकमा स्पष्टीकरण सोध्ने प्रतिक्रिया दिनुभयो । थाकसका सभापति चौधरीको कार्यकाल समाप्त हुन लागेको अवस्थामा अधिवेशन गर्नुपर्ने तिर केन्द्रीत नभई अवलोकन भ्रमण निस्केकोले थाकस कोहि कसैको बपउति सम्पत्ति नरहेको चेतावनी दिएका छन् ।

 

तर, थाकस बाराका सचिव यादव कृष्ण चौधरी भने अलि फरक धारणा राख्छन् । उनले अध्यक्ष र कोषाध्यक्ष व्यक्तिगत रूपमा भ्रमणमा गएको हुन सक्ने बताउँदै आफूलाई ब्यानर प्रयोगबारे जानकारी नभएको प्रतिक्रिया दिएका छन् ।

 

आरोपको केन्द्रमा रहेका कोषाध्यक्ष बासु चौधरीले भने सबै आरोप अस्वीकार गर्दै आफूहरू व्यक्तिगत खर्चमै भ्रमणमा निस्किएको दाबी गरेका छन् । ब्यानर प्रयोगबारे प्रश्न उठ्दा उनले “नियतबस नभएको” भन्दै पन्छिन खोज्यो ।

 

यता, विश्वसनीय स्रोतका अनुसार, भ्रमणप्रति चर्को आलोचना भएपछि र समाचार सार्वजनिक हुने संकेत पाएपछि टोलीले तय गरिएको तालिका छोट्याउँदै २१ गतेअघि नै फर्किएको बताइएको छ ।

Leave a Reply