काठमाडौँ — भुटानमा भइरहेको साफ यू–१७ फुटबल च्याम्पियनसिपको उपाधिका लागि भारत र बंगलादेश भिड्ने भएका छन । फाइनल सोमबार हुनेछ । शनिबार भएका सेमिफाइनलमा भारतले नेपाल र बंगलादेशले पाकिस्तानलाई हराएको हो । पहिलो सेमिफाइनलमा भारतले नेपाललाई ४–२ ले पराजित गरेको थियो ।

पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएपछि भारत नेपालमाथि हाबी भएको हो । भारतले ६३ औं मिनेटमा याइफरेम्बा चिङ्खमको गोलमा अग्रता लिएपछि विशाल यादवले ६८ औं मिनेटमा दोस्रो गोल थपेका थिए । नेपालका तर्फबाट ८२ औं मिनेटमा सुवास वामले एक गोल फर्काएपछि खेल रोमाञ्चक मोडमा पुग्यो ।

तर, ऋषि सिंहले भारतका लागि ८५ औं मिनेटमा तेस्रो गोल गरे । खेल सकिन एक मिनेटअघि भारतको तर्फबाट मोहम्मद कइफले आत्मघाती गोल गरे । दोस्रो हाफको इन्ज्युरी समयको पाँचौं मिनेटमा हेमनेचुङ लुनकिमले भारतका लागि चौथो गोल गरेका िथए । नेपाल समूह ‘बी’ उपविजेताका रूपमा सेमिफाइनल पुगेको हो ।

अर्को सेमिफाइनलमा बंगलादेश सडनडेथमा विजयी रह्यो । टोलीले पेनाल्टी सुटआउटमा पाकिस्तानलाई ८–७ ले हराएको हो । निर्धारित समयको खेल २–२ को बराबरीमा टुंगिएपछि खेल सिधै टाइब्रेकरमा प्रवेश गरेको हो । समूह चरणमा भारत र बंगलादेश एउटै समूहमा थिए । उक्त खेलमा भारतले बंगलादेशमाथि सफलता पाएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here