कलैया,बारा जिल्लाको सदरमुकामसमेत रहेको कलैया उपमहानगरपालिकाका मेयरसहित १३६ जना जनप्रतिनिधिले राजीनामा दिएका छन् । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा फेरि उठ्न उनीहरुले राजीनामा दिएका हुन् ।
कलैयाका मेयर राजेश राय यादवले १३५ जना जनप्रतिनिधिको राजीनामा बुझेपछि अन्तिममा आफूले पनि राजीनामा दिनुभएको हो । कलैयाको कार्यपालिका १३९ सदस्यीय रहेकोमा कार्यपालिकाका ३ जना सदस्यले मात्र राजीनामा दिएका छैनन् ।
कलैयाका मेयर रायले सत्ता गठवन्धनकातर्फबाट फेरि उम्मेदवार बन्न राजीनामा दिएको उनका राजनीतिक सल्लाहकार इ. रामप्रवेश यादवले बताउनुभयो ।
निर्वाचन आयोगले पुनः उम्मेदवार बन्न राजीनामा दिनुपर्ने प्रावधान राखेको छ । सत्तारुढ गठबन्धनकातर्फबाट कलैयाको मेयर कांग्रेसले र उपमेयर जसपाले पाउने सहमति भएको छ ।
वीरगन्जका मेयर सरावगीद्धारा पदबाट राजिनामा
वीरगन्ज,वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले पदबाट राजीनामा दिनुभएको छ । आसन्न स्थानीय तह निर्वाचनमा फेरि पनि वीरगन्ज महानगरको मेयरमा नेकपा एमालेकातर्फबाट उम्मेदवारी दिने तयारी गर्नुभएका सरावगीले मेयर पदबाट राजीनामा दिनुभएको हो । एमाले महानगर कमिटी र प्रदेश कमिटीले वीरगन्ज महानगरको मेयरमा सरावगीको एकल नाम केन्द्रीय कमिटीमा सिफारिस गरिसकेको छ ।
सरावगीले बिहीबार महानगरपालिका कार्यालयमा पुगेर महानगरकी उपमेयर शान्ति कार्कीलाई राजीनामा पत्र बुझाउनु भएको हो । उम्मेद्वारी दर्ता गर्नुभन्दा पहिले पदबाट राजीनामा दिनुपर्ने कानुनी प्रावधान भएका कारणले आफूले राजीनामा दिएको सरावगीले बताउनुभयो ।
यसअघि बिहीबार नै सरावगीले आफूले प्रयोग गर्दै आएको महानगरपालिकाको सरकारी गाडी र त्यसको साँचोसमेत प्रमुख प्रशाकीय अधिकृत निष्चल राज पाण्डेलाई फिर्ता गर्नुभएको थियो ।
पर्सामा आसन्न स्थानीय तहको निर्वाचनमा फेरि पनि चुनाव लड्ने पालिकाका जनप्रतिनिधिहरु मध्ये राजीनामा दिने सरावगी पहिलो जनप्रतिनिधि बन्नु भएको छ । १४ वटा पालिका रहेको पर्सा जिल्लामा प्राय सबै पालिकाका प्रमुख र उपप्रमुख फेरि चुनाव लड्ने तयारीमा छन् ।
मेयर बन्न मधेश प्रदेशका मन्त्री पद त्याग
वीरगन्ज,आसन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न मधेश प्रदेशका एकजना मन्त्रीले राजिनामा दिएका छन् ।
सिरहा जिल्लाको सिरहा नगरपालिकाको मेयर उम्मेदवार बन्न मधेश प्रदेशका कानून, न्याय तथा प्रदेश सभा मामिला मन्त्री प्रमोदकुमार यादवले राजिनामा दिनुभएको हो ।
मन्त्री यादव नेकपा एकीकृत समाजवादी पार्टीको कोटाबाट मुख्यमन्त्री लालबाबु राउतले गठन गरेको नयाँ मन्त्रिमण्डलमा मधेश प्रदेशमा मन्त्री बन्नुभएको थियो ।
तर अहिले आएर मेयर बन्न उहाँले मन्त्री पदबाट राजिनामा दिएका छन् । पार्टीले पनि उनको नाम मेयरको लागि सिफारिस गरेको बुझिएको छ ।
प्रदेशको मन्त्रीभन्दा स्थानीय तहको मेयरसँग धेरै अधिकार भएको र ठूलो बजेट पनि चलाउन मिल्ने भएकोले यादवलाई मन्त्रीभन्दा मेयरको पद धेरै लोभलाग्दो लागेको हुनसक्ने स्थानीयहरुको भनाइ छ । उहाँले आफै मेयर बन्ने इच्छा देखाएपछि पार्टीले उहाँको नाम सिफारिस गरेको स्रोतको दावी छ ।
यद्यपि यादवले पार्टीबाट आफ्नो नाम सिफारिस गरेकाले मन्त्री पदबाट राजिनामा दिएको बताएका छन् । पार्टीको निर्णय मान्ने पर्ने भएकोले मन्त्री पदबाट आफूले राजिनामा दिएको उहाँले विभिन्न बताउनुभएको छ ।