कृपा संवाददाता
चितवन ३ चैत्र । चितवनमा एनटिके म्यूजिक भिडियो अवार्ड आयोजना हुने भएको छ । थारु कलाकार सभा चितवनले यहि बैशाख २७ गते म्यूजिक भिडियो अवार्ड आयोजना गर्न लागेको हो । देशभर रहेका थारु गीत संगीतलाई अवार्डमा समावेश गर्ने तयारी गरिएको छ । थारु समुदाय लक्षित यो नेपालमै पहिलो पटक आयोजना गर्न लागिएको आयोजकको दावी छ । यस अघि केहि भूगोल वा क्षेत्र लक्षित यस्ता खालका कार्यक्रमहरु आयोजना हुँदै आएपनि देशभरका थारु गीत ÷ संगीतलाई समेटेर अवार्ड आयोजना गर्न लागेको पहिलो पटक हो । २०७६ सालमा बनेर यूटुबमा सार्वजनिक भएका म्यूजिक भिडियोहरु अवार्डमा सहभागी हुन पाउनेछन् ।
नारायणी कला मन्दिरमा आयोजना गरिने अवार्डमा देशभरबाट बनेका थारु गीत संगीतहरु यसमा सहभागी हुन पाउनेछन् । सबै विद्यामा अवार्ड वितरण गरिने थारु कलाकार सभा चितवनका अध्यक्ष सुरेश चौधरीले जानकारी दिए । गायन, संगीत, गीतकार, संगीत संयोजन, मोडेल, छायांकन, ड्रोन अपरेटर, नृत्य निर्देशक, सम्पादक, भिडियो इफेक्ट, रंग संयोजन, निर्देशक, श्रृगार, ड्रेस डिजाइनर लगायतका विद्यामा अवार्ड दिइनेछ । अवार्ड कार्यक्रम सफल बनाउन विभिन्न उप समितिहरु गठन भएको सभाका सचिव हिरा चौधरीले बताए । .
अवार्डमा सहभागीता जनाउन चाहनेहरुका लागि फारम आवेदन खुल्ला गरिएको छ । अवार्डमा सहभागीता जनाउन चाहनेहरुले २५ सय रुपैयाँ शुल्क तिरेर फारम भर्नेछन् । अवार्डमा सहभागी हुने म्यूजिक भिडियोको गुणस्तर र कामको मुल्यांकनको आधारमा बैशाख १० गते हरेक विद्याका पाँचजनाको नाम सार्वजनिक गरिनेछ ।