नरेश गुप्ता
बरियारपुर,बाराको मुख्य सिमा नाकामा संचालन गरिएका हेल्थडेस्कहरुले प्रदान गर्दै आएको सेवा सुविधा प्रभावकारी नभएको स्थानीयले गुनासो गरेका छन । कोरोना कोभिड १९ को संक्रमण नियन्त्रणको लागि जिल्लास्थित नेपाल÷भारत सिमा नाकामा स्थापना गरिएका हेल्थडेस्कमा खटने चिकित्सकहरुले भारतबाट नेपाल प्रवेश गर्नेहरुको ज्वरो ननापी त्यसै छोडने गरेको स्थानीयले बताएका छन । सिमा नाकामा सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीका जवानहरुले समेत नेपाल आउनेहरुलाई चेकजाँच नगरी निर्वाध रुपमा छोडदै आएका छन ।
बाराको सुवर्ण गाउँपालिकाको संन्तगजमा स्थापना गरिएको हेल्थडेस्कमा सोमबार एक सय ४५ जनाको स्वास्थ परीक्षण गरिएकोमा सबैको अवस्था सामान्य रहेको अहेव रविभुषण यादवले बताउनुभयो । सिमा नाका मटिर्वा, संन्तगंज, सिम्रौनगढलगायत जिल्लाका मुख्य नाकामा हेल्थ डेस्क स्थपना भएपनि स्वास्थ्यकर्मी नबस्दा बिहान र बेलुका हेल्थडेस्क खाली हुने गरेको छ । त्यसैगरी मटिअर्वा सिमा नाकामासमेत चिकित्सकहरु बिहान १० बजे आउने र बेलुका ४ बजेपछि घर फर्किने गरेकाले कार्यालय समयबाहेक हेल्थडेस्क खाली हुने गरेको हो ।
कोभिड १९ को नयाँ भेरियेन्टबाट छिमेकी भारत आक्रान्त बन्दै गएको अवस्थामा खुला सिमानाको फाइदा उठाउदै सिमापारिबाट दैनिक दुई हजारसम्म मानिसहरु नेपाल प्रवेश गर्ने गरेका छन । तर सिमा नाकामा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको लापर्वाहीका कारण बिना नेपालमा कोरोना जोखिम बढेको स्थानीय सन्तगंज निबासी ध्रुब्र यादवले बताउनुभयो । यो नाका भएर भारतबाट आउनेहरु मध्ये अधिकाश काठमाडौतर्फ जाने गरेको पनि उहाँले सुनाउनुभयो ।
कोरोना कोभिड १९ संक्रमण रोकथाम गर्न जिल्ला प्रशासन बाराले सबै स्थानीय तहमा सुरक्षा सतर्कता अपनाउन, समाजिक दुरी कायम गर्न र बीना मास्क हिडडुल नगर्न सूचना जारी गरिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभयो । त्यसैगरी सबै स्थानीय तहमा क्वारेन्टाइनको व्यवस्था गर्न पनि स्थानीय प्रशासनले आग्रह गरेको छ । जिल्लाका १६ वटा स्थानीय तहलगायत सिमा नाकामा सुरक्षा सतर्कता अपनाउन र संक्रमितको लागि क्वारेन्टाइनको व्यवस्थापन गर्न जिल्ला प्रशासन कार्यलय बाराबाट निर्देशन जारी भएको भएपनि अधिकांश स्थानीय तहले त्यसतर्फ ध्यान दिएको पाइदैन । कोरोनाको उच्च जोखिममा रहेको बारा जिल्लामा स्थानीय तहले कोरोना नियन्त्रणको लागि क्वारेन्टाइन लगायत सुरक्षा सर्तकतामा खासै ध्यान नदिएको बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिनुभयो ।